गण्डकी प्रदेश

वडा कार्यालयलाई जग्गा

कास्की । कास्कीको माछापुच्छर गाउँपालिका–९ को वडा भवन निर्माण गर्न स्थानीय आइबहादुर तामाङले एक रोपनी जग्गा प्रदान गरीएको छ ।

तामाङले बुधबार जिल्ला मालपोत कार्यालयमा आफ्नो स्वामित्वको उक्त जमीन वडा कार्यालयका नाममा रजिस्ट्रेशन पास गरिदिनुभएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । सो जमीनको हालको मूल्य करीब रु १६ लाख पर्ने क्षेत्रीले बताए । विगत दुई वर्षदेखि वडा कार्यालय स्थानीय कुलप्रसाद अधिकारीको घरबाट सञ्चालन हुँदै आएको थियो ।

सटरसहित तीन कोठाको मासिक भाडा रु छ हजार भुक्तानी गर्ने गरेको वडाध्यक्ष क्षेत्रीले बताए । चालू आर्थिक वर्षमा गाउँपालिकाले वडा भवन निर्माण तथा व्यवस्थापन गर्न रु २० लाख छुट्याएको छ । जमीन व्यवस्थापन भएपछि अव वडा भवन निर्माणको काम अगाडि बढाइनेछ । गाउँपालिकाका नौ वडामध्ये अन्यले आफ्नै भवनबाट सेवा दिँदै आएका छन् ।