समाचार

गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

काठमाडौँ । स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उनीद्वारा आज जारी प्रेस व्यक्तव्यमा उल्लेख छ । गेसोका पूर्वमहासचिव चन्द्रबहादुर गुरुङ र अन्यले स्मारक निर्माणमा धोका दिनाका साथै आर्थिक अपचलन गरेको सभापति गरुङको आरोप छ ।

आफूले बेलायतसँग अनवरत रूपमा २७ वर्षसम्म सङ्घर्ष गरेर गोर्खा भुपू सैनिकलाई अधिकार दिलाइसकेपछि नेपालमा पनि केही गर्नुपर्छ भन्ने सोच राखी विभिन्न युद्धमा बिनाकारण विदेशी भूमिमा मारिएका र बेपत्ता पारिएका हजारौँ पितापुर्खाको सम्झनामा स्मारक निर्माण गर्ने परिकल्पना गरिएको भन्दै उनले राष्ट्रिय गौरवको समाधि निमार्णमा आफूले भुपू सैनिकहरुबाट ऋण लिएर काम अगाडि बढाएको बताए ।

“उक्त स्मारकका गुरुयोजनाकार तथा वरिष्ठ इञ्जिनीयर शङ्करनाथ रिमाललाई थाहै नदिई चन्द्रबहादुरले पर्यटन विभागबाट रकम लिई साल्मेडाँडामा योजनाको नक्साविपरीत आफूखुशी पानीको ट्याङ्की तथा संरचना खनेर सम्पूर्ण योजनाको स्वरुप बिगार्नुका साथै सरकारी रकम दुरुपयोग गरेकामा पर्यटन विभागले छानबिन गरेर दोषीबाट सरकारी रकम असुलउपर गर्ने पर्ने प्रेस व्यक्तव्यमा उल्लेख छ ।