अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीलाई विश्वासको मत, एक वर्षसम्म सत्तामै रहने

बेलायत । बेलायती प्रधानमन्त्री टेरिजा मेले पार्टीभित्र विश्वासको मत प्राप्त गरेकी छन्।

सत्ताधारी दल कन्जरभेटिभ पार्टीका सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्दै उनले विश्वासको मत प्राप्त गरेकी हुन्। बुधबार राति भएको मतदानमा प्रधानमन्त्री मेको पक्षमा २०० सांसदले मत दिएका थिए  भने विपक्षमा ११७ मत परेको छ। विश्वासको मत प्राप्त गरेपछि पार्टीभित्र आगामी एक वर्षसम्म उनको नेतृत्वलाई चुनौती दिन पाइने छैन्।

पार्टीमा विश्वासको मत प्राप्त गर्न नसकेको भए उनी पद छाड्न बाध्य हुन्थिन्। प्रधानमन्त्री मेको ब्रेक्जिट नीतिको विरोध गर्दै उनका पार्टीका ४८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए।

प्रधानमन्त्री मेले सन् २०१६ मा भएको जनमत संग्रहमा मतदातालाई उत्साहित गर्न नसकेको आरोप लगाउँदै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। पार्टीमा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री मेले आफूले लिँदै आएको अडान सही भएको प्रतिक्रिया दिएकी छन्।

उनले आफ्नो विपक्षमा मतदान गर्ने सांसदहरुका आवाजलाई पनि बेवास्ता नगर्ने बताइन्।