राजनीति

‘समुन्नत राष्ट्र, सम्पन्न नागरिक’का लागि प्रभावशाली काङ्ग्रेस आवश्यकः नेता जोशी

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीले ‘समुन्नत राष्ट्र, सम्पन्न नागरिक’का लागि प्रभावशाली काङ्ग्रेस आवश्यक रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा नेता जोशीले आज पत्रकार सम्मेलन गरी समुन्नत मुलुक र सम्पन्न नागरिक बनाउने गरी महासमिति बैठकमा छलफल हुनुपर्ने बताए ।

उनले महासमिति बैठकका लागि काङ्ग्रेसको अग्रगामी रणनीति, काङ्ग्रेसको आदर्श र प्रेरणा, महासमितिले गर्नुपर्ने सङ्कल्प र कार्यदिशा, देशको भविश्य दिने काङ्ग्रेस, लोकतान्त्रिक समाजवादको परिभाषा, काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद र कम्युनिष्टको समाजवाद र आगामी बाटोका बारेमा उल्लेख गरेका छन् ।

“नेतृत्व वैचारिकरुपमा स्पष्ट र सङ्गठनकर्ता, मूल्यमान्यतामा आधारित, बुद्धिमतापूर्ण, राष्ट्रिय विकासको दीर्घकालीन सोच भएको र जनताले भरोसा गर्ने व्यक्तित्व हुनु आवश्यक छ”, उनले भने ।
नेता जोशीले नागरिकको आर्थिक सवलीकरणका लागि ठोस योजना र परिणाम दिने काङ्ग्रेस, जनजीविकामा व्यापक सुधार ल्याई उच्चस्तरीय जीवनयापन दिने काङ्ग्रेस बनाउन प्रस्थान बिन्दु निर्धारण गर्न यो महासमिति बैठक सफल हुनुपर्नेमा जोड दिए ।
काङ्ग्रेसले लोकतान्त्रिक समाजवाद पद्धतिअनुसार सरकारलाई संविधानको पालना गराउन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।