बाग्मती

सरकारले प्रदेश नम्बर ३ को स्थायी राजधानी पौषभित्र तोक्छः मुख्यमन्त्री पौडेल

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् ।

आज राजधानीमान आयोजीत एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको नामाकरण गरिने बताए ।

उनले भने, “करीब दश महीनाको अवधिमा हामीले सारा संरचना तयार गरेका छौँ, १३ वटै जिल्लामा हाम्रा कार्यालय स्थापना भइसकेका छन् । डिभिजन कार्यालय सबै बनिसकेका छन् ।” हामीलाई कानूनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन । कानून थिएनन् । कानून नबनाइकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन । त्यसैले हामीले कानून बनाउनको लागि प्राथमिकता दिएका थियौँ ।” उनले भने ।

मुख्यमन्त्री पौडेलले आफूहरुको अब केन्द्रीय सरकारसँग मुख्य माग भनेको नै केन्द्रीय सरकारले बनाउनुपर्ने कानून छिटो बनाउन आग्रह गर्दै उनले भने, “हामीले २५/२६ वटा कानून बनाइसक्यौँ । त्यो प्रमाणित पनि भइसकेको छ । त्यसैले अब काम गर्नको लागि धेरै समस्या हामीलाई छैन ।”

साझा अधिकारका केही कानून पहिला केन्द्रले बनाउनुपर्नेमा जोड दिँदै उनले अहिले प्रदेश प्रहरी ऐन, भूमिसम्बन्धी ऐनलगायत केही कानून केन्द्रले बनाउनुपर्ने बताए ।

कानूनको समस्याले गर्दा कर्मचारी भर्ना गर्न नपाइएका र करारमा पनि कर्मचारी राख्न पाउने व्यवस्था नभएका कारण कार्य सम्पादनमा ढिलासुस्ती भएको स्वीकार्दै उनले भने, “सबै जिल्लामा कार्यालय गठन गरेर काम सञ्चालन ग¥यौँ । आवश्यक संरचना निर्माण भइसकेका छन् । १३ वटै जिल्लामा विकास निर्माणका काम शुरु भइसकेका छन् ।”

उनले हालै काठमाडौँमा सम्पन्न अन्तर प्रदेश परिषद्को बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले साझा समस्या प्रधानमन्त्रीसँग राखेको जानकारी गराए ।