उर्जा

चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश दिने

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत शेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो ।

सञ्चालक समितिको उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

कम्पनीले रसुवामा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यस्तै सोही कम्पनीका सहायक कम्पनीले अन्य चार आयोजना निर्माण गरिरहेको छन् । ती आयोजनामा माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र मध्यभोटेकोशी रहेका छन् ।

यस्तै नेपाल स्टक एक्सचेञ्जले आज मञ्जुश्री फाइनान्सको कारोवारमा रोक लगाएको छ । केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले कारोवारमा रोक लगाइएको स्टकले जनाएको छ । यस्तै स्टकले आजै कर्पोरेट डेभलपमेन्ट बैंककोको कारोवार खुल्ला गरेको छ ।

यस्तै स्टकमा आज सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत शेयर लाभांश दिने घोषणा गरेसँगै शेयर मूल्य रु २१२ हुने गरी समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य रु २५५ रहेको छ ।