समाचार

काङ्ग्रेसद्वारा खड्गकुमारी थापाको निधनप्रति शोक व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसले शहीद क्याप्टेन यज्ञबहादुर थापाकी धर्मपत्नी ८३ वर्षीया खड्गकुमारी थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आज विज्ञप्ति जारी गरी स्वर्गीय थापाको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गरेको छ । ‘नेपाली काङ्ग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति नेपाली काङ्ग्रेस हार्दिक समवेदना प्रकट गर्दछ,’ काङ्ग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थापाको गएराति ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई बुधबार बिहान ९ देखि ११ः३० बजेसम्म सुमेरु अस्पताल, धापाखेलमा श्रद्धाञ्जलीका राखिने र अपराह्न पशुपति आर्यघाटमा दाहासंस्कार गरिनेछ ।