अन्तर्राष्ट्रिय

काबुलमा आत्मघाती आक्रमण, चार सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाफौजको एक समूहलाई लक्ष्य गरी गरिएको आत्मघाती आक्रमणमा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ । यस आक्रमणमा अन्य छ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानको राजधानी शहर काबुलमा भएको यस पछिल्लो रक्तपातपूर्ण घटनाको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएका छन् । पश्चिमी काबुलमा रहेको पाङ्गमान जिल्लामा रातभरको ड्युटीपछि फर्किरहेका सुरक्षा अधिकारीलक्षित यो आक्रमण भएको गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले एएफपी समाचार समितिलाई बताएका छन् ।

आक्रमणकारीहरु हिँडेर आएका थिए वा कुनै सवारी साधनमा थिए भन्ने प्रष्ट नभएको दानिसले बताए । यद्यपी एक सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा सुरक्षा अधिकारीहरुको एक समूहलक्षित यस आक्रमणमा तालिबानले कार बम प्रयोग गरेको बताएका छन् ।

अफगान युद्धमा अमेरिकाआवद्ध नेटो सेनाले युद्ध सकिएको घोषणा गर्दै सन् २०१४ को डिसेम्बर ३१ यता प्रत्यक्ष सैनिक कारबाही स्थगित गरेको छ । तर यहीबीच तालिबान र इस्लामिक स्टेट्स ९आइएस० लडाकू समूहले अफगान सुरक्षा अधिकारीमाथिको आक्रमण तिब्र बनाएका छन् ।

सन् २०१५ देखि हालसम्म ३० हजार अफगान सैनिक र प्रहरीहरु विभिन्न आक्रमणमा मारिएका राष्ट्रपति असरफ घानीले गत नोभेम्बरमा बताएका थिए । यो तथ्याङ्क विगत वर्षहरुको तुलनामा निकै बढी भएको अध्ययनहरुले देखाएका छन् ।