बाग्मती

निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय चालक कारवाहीमा

दाङ । तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीले पालना नगर्ने २०४ चालकलाई कारवाही गरिएको जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकलका चालकका साथै बस, जीप, कार, ट्र्याक्टर, ट्रक, अटोरिक्साका चालकलाई कारवाही गरिएको छ ।

ती सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो । ती मध्ये एक सय चालकलाई स्थलमा नै कारवाही गर्दा जरिवानाबाट रु ५२ हजार राजश्व सङ्कलन भएको छ । एकसय ४ जना चालकले आफुसँग पैसा नभएको भन्दै जरिवाना तिर्न आल आलटाल गर्ने बाँकी १०४ चालकको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र नियन्त्रणमा लिइएको टा«फिक प्रहरी प्रमुख केसीले जानकारी दिए ।

गत मङ्सिर १६ गतेदेखि तुलसीपुर बजारलाई उपमहानगरपालिका र प्रदेश नम्बर ५ को प्रहरी कार्यालयले बृहत जनचेतनामूलक कार्यक्रम गरी हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । हर्न निषेध घोषणा लगत्तै कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा आफनो काम कारवाहीलाई तीव्र पारेको छ । ट्राफिक प्रहरीले अहिले बजारका मुख्य चोकमा जेब्रा क्रसिङबाट सर्वसाधारण पैदल यात्रुहरूलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सुरक्षा, सडकबाट हिँड्ने तरीका सिकाउँदै आएको छ ।

त्यस्तै हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरको चार स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा बजारको वीरेन्द्र चोकको नेपालगञ्ज रोड, सल्यान रोड, सुर्खेत रोड र घोराही रोडमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन तथा हर्न निषेध अभियानलाई सफल बनाउन जेब्रा क्रसिङ निर्माण गरिएको हो । जेब्रा क्रसिङ निर्माण भएपछि पैदल यात्रुहरूलाई पनि सडक पार गर्न सजह भएको छ ।