समाचार

वामीटक्सार बजारको अनुगमन शुरु

वामी । गुल्मी मुसिकोट नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । बजार अनुगमन निर्देशिकाअनुसार नगरपालिकाले आइतबार र सोमबार गरी बजार क्षेत्रका करीब ३० वटा पसलमा अनुगमन गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

अनुगमनको क्रममा विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता, पसल सञ्चालन गर्न अनुमति प्राप्त भए÷नभएको, नगरपालिकामा दर्ता भए÷नभएको लगायत विविध पक्षको जाँचबुझ गरिएको उहाँले बताए । शुरुआती चरणमा रहेकाले मापदण्डविपरीत सञ्चालन भएका पसललाई सुझाव तथा निर्देशन दिने र सुधार नभए कारवाही गरिने पनि उनले बताए।

यसैगरी बजार क्षेत्रका सार्वजनिक जग्गामा व्यापारिक प्रयोजनका सामग्री राख्ने क्रमले बजार क्षेत्रमा अस्तव्यस्ता बढेको छ । विशेषगरी सडक क्षेत्रमा राखिने ग्यास सिलिन्डर, ड्रमलगायतले यातायातका साधन सञ्चालनमा कठिनाइ हुनुका साथै बजारमा हिँडडुल गर्ने यात्रुलाई पनि समस्या भइरहेको स्थानीय सरोकारवालाले जनाएको छ ।

सार्वजनिक क्षेत्रमा गिटी, बालुवा राख्ने काम पनि हुने गरेको छ । यसरी अव्यवस्थित रूपमा सार्वजनिक क्षेत्रमा सामग्री राखिँदा बजारको सौन्दर्यतामा हानी पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्नेतर्फ ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

“हामीले बजार अनुगमन निर्देशिका बनाएका छौँ”, भण्डारीले भने, “सार्वजनिकस्थलमा निजी सम्पत्ति राख्न पाइँदैन, यदि कसैले यस्तो गरेको छ भने कारवाही हुन्छ ।” उनले पटकपटक सामान हटाउन आग्रह गर्दा पनि नटेरेमा जरिवानासहित अन्य कारवाही प्रक्रियामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।