समाचार

‘सबै नागरिक बराबर हुन्छन् भन्ने राष्ट्रसङ्घको बडापत्र महत्वपूर्ण’

काठमाडौँः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको स्थापनापछि विश्वले मानवअधिकार हुनुपर्दछ भन्ने मान्यतालाई स्वीकार गरेको बताएका छन् ।

कूटनीतिज्ञ डा शम्भुराम सिम्खडाले लेख्नुभएको ‘ह्युमन राइटस्ः ह्युमन रङ्स्’ पुस्तकको विमोचन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रसङ्घको स्थापनापछिको लामो इतिहासमा बडापत्रसहित थुप्रै मामिलामा महासन्धी उत्तम उपहारका रुपमा संसारलाई दिएको बताए । उनले भने,“सबै नागरिक बराबर हुन्छन् भन्ने राष्ट्रसङ्घको बडापत्रमा उल्लेखीत बुँदा महत्वपूर्ण छ र यसलाई सबैले कार्यान्वयन गर्नुपर्छ ।”

मन्त्री ज्ञवालीले अझै संसारमा करोडौँ नागरिकले भोकमरीको समस्या भोग्दै आएको सशस्त्र होडबाजीमा खर्च हुने १० प्रतिशत रकम मात्र पनि भोकमरीमा परेका नागरिकका लागि खर्च गर्ने हो भने कोही भोकै सुत्नुपर्ने अवस्था नआउने बताए । चीनले यस अवधिमा ७० करोड मानिसलाई तनथा ब्राजिलले तीन करोड मानिसलाई गरीबीबाट उन्मुक्ति दिएको उनको भनाइ थियो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले राज्यलाई जवाफदेही बनाएर मात्र मानव अधिकारको संरक्षण हुने चर्चा गर्दै हामी सबै मिलेर मात्र मानव अधिकारको अवस्थामा सुधार ल्याउन सकिने बताए ।

आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले असमानता र विभेद्काबीच मानवअधिकार रक्षा चुनौतिपूर्ण रहेको उल्लेख गरे । प्रा डा केदारभक्त माथेमाले नेपालका ९० प्रतिशत नागरिक कर्जा नलिई जीविका चलाउन असमर्थ रहेको बताए । रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले मानव अधिकारको संरक्षणबाट मात्र समाजमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । पाँच परिच्छेदमा विभाजित उक्त पुस्तकमा लेखक शम्भुराम सिम्खडाले राष्टसङ्घमा रहँदा प्राप्त अनुभवलाई उतारेका छन् ।