बाग्मती

हेटौँडा उपमहानगरपालिकाद्वारा घरको नक्सा निःशुल्क

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ ।

विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो । उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार स्क्वायर फिट भन्दा बढी जग्गामा घर निर्माण गर्दा आवश्यक नक्सा निःशुल्क बनाउन शुरु गरेको जानकारी दिए ।

यसअघि नक्सा बनाउनका लागि सेवाग्राहीलाई कन्सल्टेन्सी धाउनुपर्ने बाध्यता थियो । कन्सल्टेन्सीले प्रति नक्सा कम्तीमा रु १० हजारसम्म लिने गर्दथे । उपमहानगरपालिकाले करारमा इञ्जिनीयर नियुक्ति गरेर निःशुल्क नक्सा बनाउन थालेको हो ।

‘कन्सल्टेन्सीले नक्सा बनाउँदा सडकदेखि सधियारसम्मका थुपै्र विवाद आउँथे, हाम्रै प्राविधिक फिल्डमा गएर नापेपछि त्यस्तो समस्या आउने सम्भावना रहेन’, सूचना शाखा प्रमुख थपलियालेभने, “एकातिर सेवाग्राहीको पैसा बचत भयो, अर्कातिर सम्भावित जोखिमको पहिल्यै पहिचान हुन पुग्यो ।” कार्यालयले आफै नक्सा बनाइदिँदा सेवाग्राही पनि सन्तुष्ट छन् ।

उपमहानगरपालिकाले चालु आवको कात्तिक मसान्तसम्म यहाँका १९ वडामा गरी ३४० घरको नक्सापास गरिसकेको छ । ती सबै नक्सा उमहानगरपालिकाकै प्राविधिकले बनाएका हुन् ।

उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीले निवेदनसहित जग्गाधनी पूर्जा, कर तिरेको रसिद, टे«स नक्सा ल्याएर आउनुपर्दछ । कार्यालयले नक्सा निःशुल्क तयार गरे पनि त्यसवापतको दस्तुर भने असुल गर्ने गरेको छ । उपमहानगरपालिकाले यसै वर्षदेखि जग्गाको प्लटिङ (खण्डीकरण) पनि रोकेको छ ।