अन्तर्राष्ट्रिय

पाकिस्तानले सर्वसाधारणका लागि खोल्यो राष्ट्रपति भवन

इस्लामाबाद । पाकिस्तान सरकारले कडा सुरक्षा भएको भव्य राष्ट्रपति भवन आम जनताका लागि खोल्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब पाकिस्तानको राष्ट्रपति भवन ऐवान–ए–सदरमा सर्वसाधारणले सहज प्रवेश पाउने छन् ।

राष्ट्रपति भवन पाकिस्तानको राजधानी इस्लामाबादको अति सुरक्षा भएको क्षेत्र रेड जोनको कन्स्टिट्युशन एभेन्यूमा मारगल्ला हिल्समा रहेको छ । राष्ट्रपति भवनले आधुनिक पिरामिड वास्तुकलाको शानदार शैलीलाई दर्शाउँछ । यसको एकातर्फ प्रधानमन्त्री आवास र अर्कोतर्फ संसद भवन रहेको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता ताहिर खुशनुदले परिचयपत्र देखाएर आम जनताले बिहान ९ बजेदेखि साझ चार बजेसम्म राष्ट्रपति भवन परिसरभित्र छिर्न पाउनेछन् ।

इमरान खानको तहरिक–ए–इन्साफ पार्टीले चुनावका क्रममा सत्तामा आएपछि देशका मुख्य भवन आम जनताका लागि खोल्ने बाचा गरेको थियो । सोही बाचाअनुसार यो निर्णय भएको अनुमान गरिएको छ ।