सुदूरपश्चिम

छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट

भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरले बितेको छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट गरेको छ ।

भीमदत्तनगरमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा अख्तियारले परेका उजुरीमध्ये तीन हजार ६५२ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ ।

मुद्दा दर्ता र फछ्र्यौटबारे जानकारी दिँदै कार्यालयले पछिल्लो समय उजुरी बढिरहेको बताएको छ । आयोगको तथ्याङ्कअनुसार सबैभन्दा बढी उजुरी दर्ता भएको कैलाली जिल्लाको एक हजार २२१ दर्ता उजुरीमध्ये एक हजार ३३ उजुरी फछ्र्यौट भएको छ ।

कार्यालय स्थापनादेखि हालसम्म दार्चुलाबाट २६१ उजुरी परेको थियो भने हालसम्म २१४ वटा उजुरी फछ्र्यौट गरिएको छ । त्यसैगरी बैतडीबाट परेको ४९५ उजुरी परेकामध्ये ३९५ फछ्र्यौट गरिएका छन् । डडेल्धुराबाट परेका ३५० उजुरीमध्ये २११ उजुरी फछ्र्यौट भएका छन् । कञ्चनपुरबाट परेको एक हजार ४४ उजुरीमा ९३३ फछ्र्यौट भएको अख्तियारले जनाएको छ ।

बझाङबाट अख्तियारमा परेका २४३ उजुरीमध्ये १८० फछ्र्यौट, सबैभन्दा कम बाजुराको ११६ दर्ता उजुरीमा १०६ वटा उजुरी फछ्र्यौट भएको छ ।

अछामबाट अख्तियारमा २११ उजुरी दर्ता भएका थिए जसमा १७४ फछ्र्यौट भइसकेको छ भने डोटीबाट ३४१ उजुरी परेकामा हालसम्म ३११ उजुरी फछ्र्यौट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कायममुकायम कार्यालय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

आयोगले आव ०७०÷७१ मा २३२, आव २०७१÷७२ मा एक हजार १३४, ०७२÷७३ मा एक हजार ४३, २०७३÷७४ मा ६९५, २०७४÷७५ मा ४११ र चालू आवमा १२१ वटा मुद्दा फछ्र्यौट भएको जनाएको छ ।