अन्तर्राष्ट्रिय

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले जेनरल जन केली केही दिनमा आफ्नो जिम्मेबारीबाट बाहिरिने जानकारी दिए । उनले शनिबार ट्वीट गर्दै केली पदमुक्त हुन लागेको सार्वजनिक गरेका थिए ।

राष्ट्रपति ट्रम्पले केलीलाई एकदमै राम्रो मान्छेको संज्ञा दिँदै सहयोग र सहकार्यका लागि धन्यवाद भनेका छन् ।“उहाँ झण्डै दुई बर्षदेखि मेरो साथमा फरक फरक भूमिकामा हुनुहुन्थ्यो, मलाई उहाँको काम गराई निकै मन परेको छ,” ट्रम्पले भने ।

केलीको उत्तराधिकारी केही दिनमा घोषणा गर्ने पनि उनले बताएका छन् । गत महिना रोयटर्स समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार चिफ अफ स्टाफको भूमिकामा उपराष्ट्रपति माइक पेन्सका चिफ अफ स्टाफ निक ऐयर्स आउने सम्भावना रहेको छ ।

केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको विवरण सार्वजनिक भएको थियो ।ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउँमा नियुक्त गरिएको छ ।

सूचना चुहिएको भनिएका बेला सेनाभित्रको प्रशासनमा अनुशासन ल्याउने बाचा गरेकाले उनलाई जिम्मेबारी दिइएको थियो ।उनले आफ्नो उक्त उद्देश्यमा सफल भएको दाबी गरेपनि सूचना चुहिने क्रम भने पूर्णरुपमा रोकिएको थिएन ।अमेरिकाको राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भएपछि अहिलेसम्म राष्ट्रपति कार्यालयबाट २८ जना पदमुक्त भएका छन् । तीमध्ये अधिकांशलाई ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले आफै छाडेका थिए ।