समाचार

५४ वर्षमा बल्ल गोनरले नागरिकता पाए

लहान । नेपालमै जन्मेर यहीँ बस्दै आए पनि नेपाली पहिचान नपाएका सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका गोनर सदाले ५४ वर्षमा बल्ल पाए नागरिकता प्रमाणपत्र ।

घरकै मूली गोनरको नागरिकता प्रमाणपत्र नबन्दा उनको सिङ्गो ११ जनाको परिवार नै नागरिकताविहीन बनेको थियो । तर, श्रीपुर्राज सामुदायिक विकास केन्द्रको पहलमा गोनरले ५४ वर्षको उमेरमा नागरिकता पाएसँगै उहाँका परिवारजनले नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ ।

गोनरको नागरिकता नभएर ४९ वर्षीया श्रीमती अमिरकादेवी, २८ वर्षीय जेठो छोरा सचिन्द्र, २१ वर्षीय माहिलो छोरो रामकुमार, १५ वर्षीेय कान्छो छोरो सुनिल, २५ वर्षीया बुहारी आशा, छोरी दुर्गादेवी, १० वर्षीया नातिनी सिर्जना, ८ वर्षीय नाति प्रेम र ५ वर्षीय सुरेन जन्मदर्ता र नागरिकता प्रमाणपत्रविहीन थिए ।
नागरिकता नपाएका तिनीहरु राज्यबाट पाउनुपर्ने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित रहँदैआएका थिए । स्थानीय साहुमहाजनकोमा हरवा चरवाको रुपमा काम गर्दैआएका गोनर नागरिकता पाउँदा असाध्यै खुशी लागेको बताएका छन् ।

उन भने – “नागरिकताका लागि सबै निकायमा धाउँदै आए कसैले सुनेका थिएनन् तर, श्रीपुर्राज सामुदायिक विकास केन्द्रले जनप्रतिनिधिहरुसम्म गएर पहल गरेपछि हाम्रो पहिचान स्थापित भयो ।” ढिलै भएपनि नेपाली पहिचान पाएर सदा परिवारमा खुशीको सीमा नै छैन । अब श्रीमती र छोराछोरीको नागरिकता र जन्मदर्ता प्रमाणपत्र बनाउने प्रक्रियामा जुट्ने गोनरको भनाइ छ ।

जन्मेपछि कानूनी रुपमा राज्यका नागरिकहरुको फेहरिस्तमा नाम जोडिनु पथ्र्यो तर, बुबा महेन्द्र सदाको नागरिकता प्रमाणपत्र नहुँदा गोनरसहित उनको पूरै परिवार नै नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित भए ।

उन भने – “बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन । अहिले मेरो नागरिकता नहुँदा श्रीमती, छोराछोरी, नातिनातिनीसम्मको पहिचान बन्न नसकेको हो ।” जन्मदर्ता नबन्दा छोराछोरीहरुले विद्यालय जानै पाएनन् ।

वडाध्यक्ष हिरण प्रसाद चौधरीले गाउँमा सर्जमिन मुचुल्का उठाएर नागरिकताको सिफारिश गर्नुभएपछि गोनरले गत २०७५ जेठ महिनामा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन् । “गाउँमा नागरिकता टोली आएका बखत कमाउन पञ्जाबमा थिएँ,” गोनर भने– “त्यति बेला छरछिमेकको नागरिकता भयो । हामी छुटिहाल्यौं ।” त्यसयता नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म सिफारिश माग्दै धाए पनि सफलता मिलेको थिएन ।

“नेपालमा जन्मिएँ तर, नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको थियो,” गोनर भने – “अहिले नागरिकता पाउँदा जीवन नै सार्थक भएको अनुभव भइरहेको छ ।”

नागरिकता नहुँदा राज्यबाट प्रदत्त सुविधाबाट मात्रै होइन समाज तथा समुदायबाट पनि अलग हुनुपरेको दुःखेसो सुनाउँदै गोनरका श्रीमती अमिरकादेवी भने – “नागरिकताकै अभावमा गाउँ स्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेकी थिइनँ तर, अब श्रीमान्ले नागरिकता वञ्चित हुन नपर्ला ।”

दि फ्रिडम फण्डको सहयोगमा आफ्नो संस्थाले सो बस्तीमा हरवा चरवा लक्ष्यित कार्यक्रम सञ्चालन गरेपछि गोनरको सिङ्गो परिवार नै नागरिकताविहीन रहेको तथ्य बाहिर आएको श्रीपुर्राज सामुदमायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी बताएका छन् ।

यस्तो समस्या देखापरेपछि जनप्रतिनिधिहरुसँग निरन्तर छलफल तथा अन्तरक्रिया गरी गोनरलाई नागरिकता दिलाउन पहल गरिएको र त्यसमा सफलता मिलेको उनको भनाइ छ । वडाध्यक्ष चौधरीका अनुसार गोनरको परिवारजनलाई नागरिकता प्रमाणपत्र दिलाउन आवश्यक पहल थालिएको छ ।