प्रदेश 2

व्यापार सङ्घमा अग्रवाल प्यानल विजयी

लहान । सिरहाको गोलबजार उद्योग व्यापार सङ्घको अध्यक्षमा भरत अग्रवालको प्यानल विजयी भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनको आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार अध्यक्ष पदमा प्रतिद्वन्द्वी जीवछ साहलाई ४२६ मतान्तरले पराजित गर्दै अग्रवाल विजयी भएका हुन् । अग्रवालले ९९८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी साहले ४२६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुरेन्द्रकुमार सिंहले जानकारी दिए । सङ्घको प्रथम उपाध्यक्षमा अग्रवाल प्यानलकै महेश साह सुडी, दोस्रो उपाध्यक्षमा आनन्दकुमार यादव, महासचिवमा साह पक्षका राजेशकुमार साह निर्वाचित भएका छन् ।

सङ्घको कोषाध्यक्षमा अग्रवाल प्यानलकै विजयकुमार साह र सचिवमा अरुणकुमार सिंह विजयी भएका छन् । सदस्यमा समृकादेवी महतो, विनोदकुमार साह, कपिलदेव साह, दीपेन्द्रकुमार साह, रामसिङ्गार साह, हीरा यादव, अनिल लामा, दिनेशकुमार नायक र बैजनाथ शर्मा विजयी भएका छन् । सङ्घको १५ सदस्यीय कार्यसमितिमा साह पक्षबाट महासचिव मात्र विजयी भएका छन् । मतदानमा सङ्घमा आबद्ध रहेका एक हजार ७७३ मतदातामध्ये एक हजार ६०३ मतदाताले मतदान गरेका थिए ।