आर्थिक

निषेधित क्षेत्रमा मदिरा कारोवार गर्ने १९ जना प्रहरीको नियन्त्रणमा

रारा । मदिरा निषेधित नगरपालिका क्षेत्रमा मदिरा सेवन, उत्पादन, बिक्री र पैठारी गर्ने १९ जनालाई गए राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर सिंह र जनपथ प्रहरी नायब उपरीक्षक राजेन्द्रबहादुर रेग्मीको नेतृत्वको संयुक्त गस्तीले शनिबार राति छायाँनाथ रारा नगरपालिका–१ र २ गमगढी बजार क्षेत्रमा मदिरा सेवन, उत्पादन र ओसार पसारमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा परेकामा तीन ग्रामीण पहुँच कार्यक्रमका कर्मचारी, एक जिल्ला आयुर्वेद कार्यालयका कर्मचारी, एक सोरु गाउँपालिकाका वडाध्यक्ष, एक नेपाल विद्यार्थी सङ्घ मुगुका कोषाध्यक्ष, दुई मदिरा उत्पादकसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक रेग्मीले बताएका ।

मदिरा निषेधित नगरपालिका घोषणा गरिएपछि मदिरा उत्पादन, सेवन, बिक्री र ओसार–पसारमा स्थानीय सरकारको सहकार्यमा प्रहरीले कडाइ गर्दै आएको छ । नियन्त्रणमा लिइएकाले सार्वजनिक निकायबाट गरिएको घोषणा तथा आदेश अवज्ञा गरी मदिरा उत्पादन, ओसार–पसार तथा सेवन गरेको पाइएकाले उनीहरुलाई नियन्त्रणमा आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । मदिरा निषेधित घोषणा भएपछि नगरवासीले शान्त र सुरक्षित महसुश गरेका छन् भने दिनहुँ मदिरा सेवनले हुने झैझगडा तथा घरेलु हिंसा शून्य भएको प्रहरीले जानकारी दिएको छ ।