समाचार

काङ्ग्रेसका पाका नेता साउदेनको निधन

पशुपतिनगर । प्रजातन्त्रका सेनानी तथा नेपाली काङ्ग्रेसका पाका नेता चक्रबहादुर साउदेनको गए राति निधन भएको छ । लामो समय राजनीतिमा रहेर समाजसेवामा सक्रिय रहेका सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ निवासी इलाम जिल्लाका पूर्वउपसभापतिसमेत रहनु भएका साउदेनको ८० वर्षको उमेरमा निधन भएको हो ।

पूर्वगाविस अध्यक्ष तथा नेपाली काङ्ग्र्रेसका पूर्वजिल्ला उपसभापति साउदेनलाई नेपाली काङ्ग्रेसले शनिबार उहाँकै घरमा सम्मान गरेको थियो । १९९५ सालमा जन्मिएका साउदेन लामो समय राजनीति र समाजसेवामा सक्रिय रहेपछि पछिल्लो समय विरामीले थलिएर घरैमा विश्राम लिइरहनुभएको थियो ।

इलामको विकासका निम्ति योगदान गर्नुभएका साउदेनको निधनले इलामबासी दुःखी भएका छन् । २०४९ सालमा जिल्ला उपसभापति हुनुभएका साउदेन २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सुलुबुङ गाविसका अध्यक्ष हुनुभएको थियो ।