गण्डकी प्रदेश

एक करोड २६ लाखको लगानीमा स्वास्थ्यचौकी निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रु एक करोड २६ लाखको लगानीमा स्वास्थ्यचौकी निर्माण गरिएको छ ।

बागलुङस्थित शहरी विकास तथा भवन डिभिजन कार्यालयले १७ शय्या क्षमताको पूर्वाधारसहितको दुईतले सुविधासम्पन्न भवन निर्माण गरेको हो । रु एक करोड २६ लाखमा ठेक्का सम्झौता गरेको गाल्वा जयलक्ष्मी जेभीले लक्ष्यभन्दा तीन महीनाअघि नै भवन निर्माण गरेर हस्तान्तरण गरेको वडाध्यक्ष दिलीपकुमार शेरचनले बताए ।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवनको भुइँतलामा उपचार कक्ष, प्रशासन, प्रयोगशाला, प्रसूति, औषधि भण्डारकक्ष छन् । माथिल्लो तलामा स्वास्थ्यकर्मीका लागि दुई परिवारका लागि पुग्ने आवास कोठा बनाइएको छ । तारबार लगाएर घेराउ गरिएको भवन परिसरमा प्रवेशद्धार पनि निर्माण गरिएको छ । यसअघि सिद्धार्थ माविको पुरानो भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुदैँ आएको थियो । सुविधासम्पन्न भवन निर्माण भएपछि सेवाप्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख शम्भु श्रेष्ठले बताए ।

भवन निर्माणका लागि स्थानीय प्रेमबहादुर घर्तीले पाँच रोपनी पाँच आना र गणेशबहादुर घर्तीले ११ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । शनिबार उक्त गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले भवन उद्घाटन गरेका थिए ।

कार्यक्रममा जग्गादाता र लक्ष्यअघि नै भवन निर्माण गर्ने व्यवसायी जयन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।