लुम्बिनी

ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउँदै

परासी । अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए ।

अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत छैन । रामग्राम नगरपालिकाको समेत केही भाग ओगट्ने सो ताल करीब १०० बिघा क्षेत्रफलमा फैलिएको छ । अहिले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले सो तालको पुनःजीवन र संरक्षणमा चासो देखाएको छ । ताल संरक्षण गर्दै पर्यापर्यटनको विकास गरी स्थानीयवासीको आयआर्जनमा समेत टेवा पु¥याउने गरी काम शुरु गर्न लागिएको समितिका अनुसन्धान तथा सूचना प्रविधि विभागका प्रमुख राजन रेग्मीले बताए ।

अहिले तालले आगटेको क्षेत्र पहिचान गरी वरपर बाँध निर्माण गरेर तालमा पानी सञ्चय गर्ने योजना बनाइएको र त्यसका लागि समितिले रु ४० लाख बजेट विनियोजन गरेको उनको भनाइ छ । पानीमात्रै रोक्न सके पनि तालले पुनःजीवन पाउने र त्यहाँ माछापालन र डुङ्गा शयरको व्यवस्था गर्ने योजना बनाइएको प्रमुख रेग्मीले बताए । “यसबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नाका साथै भूमिगत जलस्रोतको सतह बढेर तराईमा देखिएको पानी अभावसमेत हट्छ ।” उनले भने ।

इञ्जिनीयर किशोर खतिवडासहित आफूले स्थलगत अनुगमन गरेको र अब लागत अनुमान र नमूना तयार गरी टेण्डर आह्वान गरेर काम शुरु गरिने पनि उनले बताए । तालको संरक्षणका लागि गाउँपालिकाले पनि प्रयास थालेको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

ताललाई पुनः व्यूँताउन वृहत गुरुयोजना बनाएर संरक्षण आवश्यक देखिएकाले गाउँपालिकाले सोहीअनुसारको तयारी गरिएको अध्यक्ष गुप्ताको भनाइ छ । “ताललाई व्यूँताएर त्यहाँको आसपासमा घरबास सञ्चालन गर्ने, पार्क निर्माण तथा डुङ्गा शयर गर्दै पर्यापर्यटनको विकास हुने गरी योजना बनाइरहेका छौँ ।” उनले भने ।

लामो समयदेखि केही स्थानीय व्यक्तिले तत्कालीन जिविसबाट तालको नाममा बजेट लिए पनि संरक्षणको कुनै काम नगर्दा तालको अस्तित्व नै मेटिएको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिए । केही व्यक्तिले ताल अतिक्रमण गरी जग्गाधनी पुर्जा बनाउने प्रयास गरे पनि सो बारे मुद्दा परेपछि सर्वोच्च अदालतले तालको जग्गालाई पुर्जा दिन नमिल्ने गरी फैसला गरिदिएका कारण जग्गा जोगिएको उनको भनाई छ ।

ताललाई पुनःजीवन दिन सके त्यहाँको पर्यटन विकासमा ठूलो टेवा मिल्ने भएकाले सबै मिलेर लागे ताललाई पुनःजीवन दिन समय नलाग्ने जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको विश्वास छ । पौराणिक किंवन्दीअनुसार भगवान कृष्णले आफ्नो नारायणी सेना लगाएर सो ताल खनेका थिए ।

बुद्धकालमा पनि भगवान गौतमबुद्धका अग्रश्रावकसमेत रहेका उनका भाइ भिक्षु आनन्दको नामसँग समेत तालको इतिहास जोडिने गरिन्छ ।