पत्रपत्रिका

दुई अध्यक्षको कार्यशैलीप्रति नेकपामा असन्तुष्टि

काठमाडौं । सत्तारुढ दल नेकपामा शीर्ष नेताहरूबीच असमझदारी चुलिएको छ। पार्टीको सर्वोच्च कार्यकारी निकायको बैठक वरिष्ठ चार नेताले नै शनिबार बहिष्कार गरेका छन्।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको कार्यशैलीप्रति विमति जनाउँदै नौ सदस्यीय सचिवालयका चार जना बैठकमा सहभागी भएनन्। अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेव गौतम छन्।

चार सदस्यले बैठक छाडेर हिंडेपछि पार्टीका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापाको बैठक बसेको थियो।

नेकपामा सचिवालयलाई सर्वाधिकार सम्पन्न बनाएको, संगठनात्मक तथा राजनीतिक निर्णय दुई अध्यक्षमा मात्र केन्द्रित गरेको र पार्टी अन्तरिम विधानअनुसार पार्टीका नियमित बैठक नबोलाएकोमा केही समयदेखि स्थायी र केन्द्रीय समिति सदस्यसमेत असन्तुष्ट थिए।

यसअघि २१ केन्द्रीय सदस्यले पार्टी अध्यक्षद्वयलाई ६ बुँदे ज्ञापनपत्र पनि बुझाएका थिए। शीर्ष तहमा चुलिँदै गएको असन्तुष्टि शनिबार प्रकट भएको हो।