समाचार

उपप्रधानमन्त्री पोखरेलको ठोकुवा, “निर्मलाको हत्यारा पत्ता लागिसक्यो, चाँडै सार्वजनिक गर्छौं”

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् ।

‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को शनिवार काठमाडौँमा  उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।”

मन्त्री पोखरेलले निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै उनले निर्मलाका हत्यारालाई सार्वजनिक गर्दै गर्दा राजनीतिक रुपमा कसैले पनि छाता ओढाउन नआउनु समेत आग्रह गरे ।

कार्यक्रममा उपस्थित कांग्रेस नेतृ पुष्पा भुसालको नाम लिँदै नेकपाका नेता समेत रहेका मन्त्री पोखरेलले भने, ‘मलाई एउटा डर लागेको छ, सरकारले त्यसलाई सार्वजनिक गर्दा राजनीचिको धेय बोकेकाहरु छाता ओढाउन आउने हुन् कि भन्ने लागेको छ । पुष्पा जी ख्याल गर्नुहोला ।’

प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै मन्त्री पोखरेलले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दावी गरे । उनले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिए ।

उनले भने, ‘निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउँदा यीमध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन ।’

राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभूतिमा सरकारका काम कारबाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग सरकारले दया गरेर दिएको होइन, त्यसैले आयोगले सधैँभरि मावन अधिकारको सङ्घर्षका पक्षमा साथ दिने बताए ।

नेपाली काङ्ग्रेसका नेत्री पुष्पा भुषालले जतिसक्दो चाँडो निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गरिन् ।