समाचार

देश निर्माणका लागि इञ्जिनीयरको भूमिका महत्वपूर्ण प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए । सरकार इञ्जिनीयरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले भने “तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।”

राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो शर्त हो” प्रधानमन्त्री ओलीले भने, “यसमा सरकार प्रतिबद्ध छ । सरकारको यस अभियानमा इञ्जिनीयरको साथ सहयोग जरुरी छ ।”

वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । “सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ”, प्रधानमन्त्रीले भने, “केही मानिसले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौँ ।”

प्रधानमन्त्रीलाई भेट्न एशोसिएशनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इञ्जिनीयरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।