समाचार

हनुमन्ते करिडोरमा नयाँ शहर निर्माण गर्ने आयो आयो सुन्दर योजना

भक्तपुर । सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्त रुपमा हनुमन्ते नदीलाई व्यवस्थित गर्दै नयाँ शहर निर्माण गर्ने भएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले यहाँ आयोजना गरेको हनुमन्ते करिडोर निर्माण तथा जग्गा एकिकरणबारे दुवै नगरपालिकाबीचको संयुक्त विस्तारित बैठकमा भक्तपुर २ न क्षेत्रका प्रतिनिधिसभा एवं प्रदेशसभाका सांसद महेश बस्नेतसहितको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नदीको ५०० मिटर क्षेत्रभित्रको जग्गामा एकिकरण आयोजना सञ्चालन गर्दै नयाँ, व्यवस्थित र सुरक्षित शहर निर्माण गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
बैठकले दुई नगरपालिकाको क्षेत्र अन्तर्गत हनुमन्ते पुलबाट सूर्यविनायक–२, ३, ४, ५ बालकोट, दधिकोट, कटुञ्जेसम्म र मध्यपुरथिमिका १, ३, ४, ५ र ९ राधेराधे हुँदै लोकन्थली मनोहरा प्लानिङको सिमाना अर्थात ललितपुरको सिमानाको गोदाबरी खोला राम मन्दिरसम्मको क्षेत्रफलमा जग्गा एकिकरण आयोजना सञ्चालन गर्दै नदीको व्यवस्थापन र सुरक्षित आवास निर्माण गर्ने गरी कार्य अगाडि बढाउनेबारेमा छलफल तथा निर्णय भएको सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले जानकारी दिए ।

आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सूर्यविनायकका प्रमुख थापाको संयोजकत्वमा मध्यपुरथिमिका प्रमुख श्रेष्ठ सहसंयोजक र आयोजना क्षेत्रभित्र पर्ने दुबै नगरपालिकाका वडाअध्यक्ष सदस्य रहनेगरी आयोजना व्यवस्थापन समिति गठन गरिएको छ । सोही कार्यक्रममा भक्तपुरको समग्र विकासलाई सफलतापूर्वक सम्पन्न गर्न नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
उक्त समितिमा ३ नं प्रदेशसभा सदस्य शशीजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, रजनी जोन्छे, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली काङ्ग्रेस जिल्ला सभापति दुर्लभ थापा, नेता अष्ट कवे, मदनकृष्ण श्रेष्ठ, नेकपाका नेता सुचित्रा श्रेष्ठ, भाइकृष्ण श्रेष्ठ, काङ्ग्रेस मध्यपुरका नगरसभापति सुरेन्द्र श्रेष्ठ, काङ्ग्रेसका नेता विष्णुराज कार्की र बालकृष्ण श्रेष्ठ सदस्य रहेका छन् ।

हनुमन्ते खोला सरसफाई कार्यक्रममा पूर्बमन्त्री महेश बस्नेत