अन्तर्राष्ट्रिय

व्यापार विवाद रोक्न चीन सकारात्मक भएको ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताएका छन् ।

ट्रम्पले शुक्रबार ट्वीटरमा लेख्नु भएको छ, “चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको छ ।”

केही दिन अगाडी चिनियाँ राष्ट्रपति सी चिन पिङसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार विवादको समाधान हुने विश्वास आफुलाई रहेको बताए ।

अर्जेन्टिनामा भएको सो भेटवार्ताका क्रममा सीले करवृद्धिका योजना तत्काल स्थगन गर्नेगरी अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

यद्यपि चीनको बाणिज्य मन्त्रालयका एक प्रवक्ताले बिहीबार सञ्चारकर्मीसँगको नियमित भेटमा चीनले अर्जेन्टिनामा आफ्ना राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए।