विचार/ब्लग

के विपी नारीलाई परपुरुषसंग सजिलै लहसिने कमजोर चरित्रभएका जातिकै रुपमा लिन्थे ?

भरत कुमार साउद/नेपालका शासकहरुसँग सामाजिक तथा राजनीतिक सम्बन्ध भएको र त्यो सम्बन्धमा उतारचढाव आइरहने एक शिक्षित र पहुँचवाला परिवारमा विश्वेश्वरप्रसाद कोइराला जन्मिएका हुन् । शासकहरुसँग कोइरालाका बाबु कृष्णप्रसादको सम्बन्धमा आएको उतारचढावकै भएकाले उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो । बाबु पूर्वी नेपालको विराटनगरका जमिनदार भएका कारण उनको बाल्यकालको केही हिस्सा तराइको जनजीवनबिच हुर्केको थियो । भारतमा बस्दा अङ्ग्रेज विरोधी स्वतन्त्र भारतका शासकहरुसँग पनि कोइराला परिवारको सम्बन्ध थियो । यसरी तत्कालीन परिवेशबाट कोइराला परिवार देशदुनिया घुमेको, बुझेको, आधुनिक परिवार थियो । शासकहरुसंगको असहज सम्बन्धका कारण समयव्रmममा उनको परिवारले आर्थिक कठिनाइ पनि बेहोर्नु नपरेको होइन तर सहयोग र अवसर पनि पर्याप्त नै पाएको देखिन्छ । विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक, साहित्यिक, सामाजिक तथा समग्र व्यक्तित्वमा नै यस परिवेशको प्रभाव स्वाभाविक रुपले परेको छ । पाश्चात्य अङ्ग्रेज समाज, सभ्यता र साहित्यसंग परिचित हुने वातावरण कोइरालाले भारतमा पाए । फलस्वरुप आधुनिक मनोविज्ञानको साहित्यिक संस्करणमा प्रवेश गर्न उनलाई मद्दत पुग्यो तर कोइराला थिए आप्रवासी नेपाली तथा भारतीय रैथाने समाजमा हुर्किएका व्यक्ति । नेपालको तराईको आञ्चलिक परिवेश तथा भारतीय ग्रामीण तथा सहरी समाजको मनोविज्ञान त्यहीबाट उनका कथामा आउन पुग्यो र उनी स्वयम्को सामाजिक चिन्तन र व्यक्तित्व उनका रचनामा प्रकट नहुने कुरा भएन । विश्वेश्वरप्रसाद कोइरालाका कथाको धरातल पनि सामाजिक परिवेश नै हो । जीवनमा भोगेका सुख, दुःख, हर्ष, विषाद र स्थानगत प्रभावको स्पष्ट चित्र पनि उनको कथा शील्पमा हामी पाउछौँ । उनका लेखनको उद्देश्य जेसुकै भए पनि उनका कथामा नेपाली समाज र लेखकीय चिन्तन स्वाभाविक रुपले टड्कारै आएको छ । रचनाको अन्तर्यमा गौर गरेर हेर्ने फूर्सद मात्र चाहिन्छ ।
दोषी चश्मा कथाको पात्र केशवराजमा पनि राजनीति, समाज र संस्कृतिजन्य मनस्थिति बढी देखिन्छ । जहानियाँ राणाशासनका समयमा शासक परिवार र अरु दुनियाँका बिचमा निकै भिन्नता थियो । राणा शासकहरु उपल्लो दर्जाका मानिस र अरु प्रजा उनीहरुको निगाहमा बाँच्ने तल्लो दर्जाका मानिस मानिन्थे । केशवराज त्यही सामाजिक परिवेशमा हुर्केको मानिस हो । त्यसैले ऊ जर्साबलाई उपल्लो दर्जाका आप्mना अन्नदाता ठान्छ र आफूलाई उनको निगाहमा मात्र छाक टार्न सक्ने भुइँमान्छे । यही न्यूनस्तरको आत्ममूल्याङ्कन उसले सामाजिक परिवेशबाट ग्रहण गरेको मानसिक प्रभावको नतिजा हो । यही नतिजा उसको व्यवहारमा पनि देखिन्छ । चाकरीलाई आप्mनो कर्तव्य ठान्नु भनेको नियतिका रुपमा स्वीकार्नु पनि हो जुन सामाजिक परिस्थितिले नै निर्माण गरेको मनोज्ञिान हो ।

महाराजको सवारी कथामा रामे, श्यामे, घने, गने नेपालको ग्रामीण अशिक्षित र शासनमा सहभागिता नभएका सीमान्तकृत समाज र समुदायका व्यक्तिहरु हुन् । उनका मानसमा राजाको प्रतिबिम्ब काल्पनिक, कुतुहलमय र रहस्यमय छ । राजा जनताको पीरव्यथाप्रति बेखबर भएकोमा लेखक भने असन्तुष्ट छन् । चौकीदार, बडाहाकिम सबै मिलेर जनतालाई सित्तैमा काम लगाई गरेको श्रमशोषण र बजेट बचाएको कारण बडाहाकिमको बढुवा भएको अवस्थाप्रति लेखकले व्यङ्ग्य गरेका छन् । गरिबहरुको श्रमदानबाट बचाइएको पैसाले काठमाडौँमा गाडी थपिए तर उनीहरुले केही पाएनन् । लेखकको यही असन्तुष्टि व्यङ्ग्यका माध्यमले प्रकट भएको छ ।

पवित्रा कथामा जातीय तथा लैङ्गिक सामाजिक अन्तःप्रणालीको प्रभाव देखिन्छ । पवित्राका माध्यमबाट नारी मनोविश्लेषणको प्रयत्न यस कथामा भएको छ । अर्को शब्दमा भन्नुपर्दा पवित्रा कथामा नारीको चरित्रचित्रण पुरुषका आँखाबाट भएको छ । नेपाली समाज पुरुषप्रधान रहेको छ । पितृसत्तात्मक समाजमा नारीलाई उत्पीडनमा पारिएको नै छ साथै सामाजिक चिन्तन, रीति, प्रचलन पनि पुरुष अनुकूल नै बनाइएका छन् । यही समाजको पुरुष सदस्य नै हुन् – कथाकार कोइराला । तसर्थ नारी पात्रको चरित्र आयोजनामा उनी तटस्थ हुन सकेका छैनन् भन्दा अत्युक्ति हुँदैन । पवित्रा कथामा पवित्राको शारीरिक विकालङ्गतालाई विपीले यसरी खिसीट्युरी गरेका छन्  । आँखा तानिएका, घाँटी गाँडले विकृ.त भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकाले हिड्दा खोज्याएर हिड्नुपर्ने, इश्वरको यो राम्रो सृष्टिमा पवित्रा एउटी यस्ती प्राणी थिइन् तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो ।

यी पङ्क्ति लेखिरहदा ले्खकले कस्ता पाठकको अपेक्षा गरेका हुँदा हुन् । आँखा तानिएका, घाँटी गाँडले विकृ.त भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकाले हिड्दा खोज्याएर हिड्नुपर्ने व्यक्तिले पनि पढ्नका लागि यो कथा लेखिएको होला कि नहोला ? कोइराला हुर्केको समाज र परिवारमा त्यस्ता मानिसलाई कसरी हेरिन्थ्यो र कोइरालाको उनीहरुप्रतिको धारणा कस्तो थियो भन्ने यसबाट प्रस्ट हुन्छ । यस कथामा कथाकारको प्रयास पवित्राको माध्यमले नारी यौनमनोविज्ञान प्रस्तुत गर्नु थियो होला तर उल्टो भइदिएको छ । स्वयम् कथाकारको नारीलाई हेर्ने पुरुषवादी मानसिकता यसमा अनावृत्त हुन पुगेको छ । माथि उधृत कथांशमा नारी सौन्दर्यलाई कथाकारले शरीरमा खुम्च्याइदिएका छन् । शारीरिक रुपले अशक्त, रोगी वा विकलाङ्ग नारीलाई घृणाको लायक ठान्ने कोइराला मानवताका विरोधी पो देखा पर्छन् । उनको मानसिकता पुरुषवादी समाजिक मनोविज्ञान हो । कोइराला हिन्दू धर्म र वाहुन जातीय उच्चताका पक्षपाती हुन् भन्ने पनि यस प्रसङ्गमा परोक्ष रुपले देखिन्छ । भात पकाउने बाहुन जातिले हो तर पवित्रा कुरुप भएकीले बाहुन जातिकी भन्न नसुहाउने खालकी छन् भन्ने आशय यसमा रहेको छ । कुरुप मान्छेले भात पकाएमा हिन्दू धर्मको खिसी हुने तर्क गरेर कोइरालाले शारीरिक विकलाङ्गता भएका, दीनहीन तथा कमजोर मानिसमाथि हेलाहोचो गर्नुपर्ने कस्तो हिन्दू धर्मको कल्पना गरेका होलान् शोचनीय विषय छ । गलगाँड भएकी र अपाङ्गता भएकी स्त्रीले भान्छा छोएमा धर्मको खिल्ली हुन्छ भने त्यो धर्म कसको हो – मानवीय चेतना भएका मानिसको की पाशविकताले र कामुकताले भरिएको पुरुषको ? कोइराला कसका पक्षधर हुन्? अवश्य पनि कोइरालालाई यस कथाले पितृसत्तात्मक पुरुषवादी नेपाली समाजका अन्धअनुयायी देखाएको छ ।

सामाजिक मनोविश्लेषणमा केवल कृतिभित्रका पात्रको व्यक्तित्वमा समाजको प्रभाव मात्र खोजिदैन बरु लेखक र लेखकले अपेक्षा गरेका पाठकको पनि मनोविश्लेषण गरिन्छ । तिनका व्यक्तित्वमा समाजको प्रभाव खोजिन्छ ।

विहा शीर्षक कथामा अनमेल विवाहका विरुद्ध कथाकार कोइरालाले तत्कालीन सामाजिक परम्परामाथि नै व्यङ्ग्य गरेका छन् । छोरीको उमेरकी केटीलाई सुब्बा कटकबहादुरले पत्नी/दुलही बनाएर भित्रायाएकोप्रति लेखकको असहमति स्पष्ट छ । यस कथामा सामाजिक कुरीति हटाएर वा सच्याएर नवप्रगतिमा अघि बढ्नुपर्ने प्रगतिशील विचार कोइरालाले प्रादुर्भाव गरेका छन् । अन्य कतिपय उनका कथाहरुमा भने लैङ्गिक समताका दृष्टिले कोइराला विभेदकारी सामाजिक अन्धविश्वासले ग्रस्त देखिन्छन् ।

पवित्रा कथामा कोइरालाले पवित्रालाई केशवदेवसंग यौनासक्त देखाएका छन् जुन अत्यन्त रुग्ण लाग्दछ । एक असहाय र अपाङ्गता भएकी प्रौढा नारीलाई यौनवुभुक्षा ठूलो हुन्छ कि उदर वुभुक्षा ? कोइराला निसन्देह यौन प्यासलाई महत्व दिन्छन् – कम्तीमा पनि नारीका हकमा । यो पवित्रामाथि मात्र होइन सम्पूर्ण नारीमाथि नै लेखकले गरेको अन्यायपूर्ण ज्यादती नै हो । त्यही घरमा बस्ने अविवाहित युवक केशवदेवमा भने पवित्राका प्रति कुनै कामाशक्ति भएको कथाकारले देखाएका छैनन् । के कोइरालाका दृष्टिमा रोगी, भोका वा जुनसुकै उमेर र अवस्थाका महिला पनि यौनासक्तिका पीण्ड मात्र हुन् ? प्रश्न विचारणीय छ ।

नारीमाथि ज्यादती भएका कथाहरुमा होड शीर्षक कथा सर्वाधिक चर्चित छ । यस कथामा दुलाहाले नारीहरु दुर्बल चरित्रका जससंग पनि यौनासक्तिले लहसिने स्वभावका हुन्छन् भन्ने आरोप लगाउदछ । दुलही त्यो आरोप मान्न तयार नभएपछि दुलाहादुलहीबिच एउटा विवाद सिर्जना हुन्छ । दुलाहाले आफ्नो कुरालाई पुष्टि गर्ने प्रमाण दिन सकेका खण्डमा उसले लगाएको आरोप दुलहीले स्वीकार्नुपर्ने र यदि दुलाहाले प्रमाण जुटाउन नसकेका खण्डमा आफ्नो नारीप्रतिको त्यस्तो धारणा त्याग्नुपर्ने भन्ने कुरा उनीहरु दुबैले मान्दछन् । दुलहीले तोकिदिए अनुसार दुलाहाले एक जना अधवैसे विधवालाई आफूसंग आकर्षित गर्नुपर्ने हुन्छ । ऊ त्यस काममा सफल पनि हुन्छ र नारीहरु दुर्बल चरित्रका हुन्छन् भन्ने सावित गर्दछ । यस कथामा नारीमाथि लेखकले मनोमानी आरोप लगाएर मनोमानी प्रमाणित पनि गरेका छन् । कोइरालामा पुरुषीय उच्चाहम् नभएको भए उनी दुलहीले पनि जुनसुकै पुरुषलाई दुर्बल चरित्र प्रमाणित गर्न सक्लिन भन्नेमा ध्यान दिने थिए । कोइरालाको उद्देश्य नारीलाई वासनाको अविवेकी डल्लो सावित गराउनु मात्र थियो त्यसैले उनको पुरुषको स्त्रीलम्पटतामाथि प्रश्न उठाएनन् । परस्त्री वा परपुरुषसँग आकर्षित हुनु नारी वा पुरुष दुबैको विपरीतलिङ्गी आकर्षणको नैसर्गिक लक्षण हो । त्यसलाई विवेकले मात्र नियन्त्रण गरिने हो भन्ने कुरा यस कथामा कथाकारले बिर्सेर आप्mनो कुण्ठा नारीमाथि खन्याए जस्तो देखिन्छ ।

सखी कथाकी चन्द्रकुमारीले आफ्नो घरमा बहालमा बस्न आएको युवकले एक्कासी हात समातेर म्वाई माग्दा पनि विरोध गर्दिन बरु उल्टै आत्तिएर अहिले होइन पछि दिन्छु भनेर भाका राख्छे । पछि युवकले वास्ता गर्न छाडेकाले विक्षिप्छ बन्छे । यस्तो मनोदशाका लागि कोइरालाले नारी पात्र नै किन छाने ? के कथाकार नारीलाई परपुरुषसंग सजिलै लहसिने कमजोर चरित्रभएका जातिकै रुपमा लिन्थे ?

रिक्सा तान्ने कथाकी धनमायालाई धनवीर असाध्य माया गर्छ तर उसले धन कमाउन नसकेका कारण धनमाया अर्कै मगरसित लाग्छे । प्रेम(पहिलो) कथाकी राजकुमारी विपीको शब्दमा निर्धन ब्राह्मणलाई झ्यालैबाट देखेर कामासक्त हुन्छे र मध्यराति लुकेर त्यस निर्धन ब्राह्मणका घर गई आफ्नो यौनप्यास मेटाउछे र बिहान कोही नउठ्दै घरमा आएर सुत्छे । त्यसपछि उसको शरीर हलुको हुन्छ र केही दिनदेखिको अस्वस्थता पनि भाग्छ । यसरी नारी पात्रलाई यौनभोगी र सजिलै परपुरुषसँग लहसिने कमजोर चरित्र भएको देखाउन कोइरालाको निकै रुची रहेको देखिन्छ । पितृसत्तात्मक समाजको पुरुष सदस्यका नाता कोइरालामा पुरुषीय मानसिकता थियो भन्ने उनका कथाले सङ्केत गरेका छन् ।