खेलकुद

विश्व सम्पदा सूचीमा रग्बी विश्वकप ट्रफी

काठमाडौँ । जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी अहिले नेपालमा छ ।

‘वल्ड ट्रफ्री टुर’मा रहेको सो ट्रफी शुक्रवार काठमाडौँका विभिन्न पुरातात्विक तथा ऐतिहासिकस्थलमा सार्वजनिक गरियो । नेपाल रग्बी सङ्घको समन्वयमा नेपाल ल्याइएको ट्रफी शुक्रवार विश्व सम्पदामा सूचिकृत ऐतिहासिक पाटन दरबार क्षेत्र, स्वयम्भूनाथ, पशुपतिनाथ र बौद्ध स्तुपा पु¥याइ सार्वजनिक गरिएको सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।

ट्रफी टुरमार्फत विश्व रग्बी परिवारमा नेपाललाई संसारभर चिनाउने कार्यमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ । “विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्वसम्पदा सूचीमा समावेश सगरमाथाको आधार शिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटनदरबार स्क्वार लगायत स्थानमा घुमाइको हो” उनले भने ।

कार्यक्रम अन्तर्गत ट्रफी शनिबार टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारहरुको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन र पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ ।

रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एशियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो ।