पर्यटन/संस्कृति

पर्यटकीय स्थलमा वनभोज जानेको सङ्ख्यामा वृद्धी

उर्लाबारी । जाडोको मौसम शुरु भएसँगै मोरङ जिल्लामा रहेका पर्यटकीय स्थलमा वनभोज खान आउनेहरुको सङ्ख्या बढेको छ । मङ्सिर १५ पछि प्रदेश नं १ का विभिन्न स्थानबाट जिल्लाका पर्यटकीय स्थलहरुमा वनभोज खान आउनेको घुँइचोे लागेको हो ।

बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेतना सिमसार क्षेत्रमा सबैभन्दा बढी वनभोज खान आउनेहरुको भीड लाग्ने गर्छ । राजमार्गसँगै जोडिएको भएकाले पनि बेतना सिमसार वनभोज खान र घुम्न आउनेहरुका रोजाइमा परेको हो । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहअन्र्तगतको सो सिमसार क्षेत्र करीब ६५ बिघा क्षेत्रफलमा फैलिएको छ ।

समूहका अध्यक्ष डम्बर बस्नेतका अनुसार जाडो बढेसँगै वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको छ । हाल सार्वजनिक बिदा बाहेकका दिनमा करीब एक हजार जना वनभोज आउने गरेका छन् । सार्वजनिक विदाका दिन करीब पाँच हजार जनाको भीड लाग्ने गरेको छ ।

समूहले वनभोज स्थलका लागि रु ६ सय तथा वनभोज खान आउनेहरुका लागि प्रतिव्यक्ति रु १० तोकिदिएको छ । सिमसार क्षेत्र घुम्न आउनेहरुका लागि रु ३० प्रवेश शुल्क लिने गरिएको छ । समूहले सिमसार क्षेत्रलाई थप आकर्षक बनाउन २० वर्षे रणनीतिक योजनासमेत जनाएको छ । सो सिमसार क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा १ नं प्रदेश सरकारले रु १ करोड बजेटसमेत विनियोजन गरेको समूहका अध्यक्ष बस्नेतले जानकारी दिए । पानीले वर्षभरि नै भरिरहने ठूल्ठूला पोखरीले गर्दा बेतना सिमसार क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रको रुपमा राखिएको छ । साइबेरियादेखि आउने चराहरुका साथै २५ प्रजातिका दुर्लभ चराहरु, विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस सिमसार क्षेत्रमा पाइन्छन् ।

यस्तै, जिल्लाको उर्लाबारी नगरपालिका – २ मा अवस्थित बेतिनी सिमसार क्षेत्र पनि वनभोज खान र घुम्न जानेहरुको आकर्षक गन्तव्य हो । करीब ६० बिघा क्षेत्रफलमा फैलिएको सो सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जाडो मौसम शुरु भएसँगै सो सिमसारमा वनभोज खान र घुम्न दैनिक तीन÷चार सय र सार्वजनिक विदाका दिन करीब एक हजारको हाराहारीमा आउने गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम राईले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–३ मंगलबारे चोकबाट करीब दुई किलोमिटर उत्तरमा सो सिमसार रहेको छ । यहाँ सडक सुविधा भएकाले सहजै पुग्न सकिन्छ । दुई वटा पोखरी रहेको सो सिमसारमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याइएको छ ।

सिमसार क्षेत्रमा वनभोज खानका लागि रु ६०० र घुम्नेहरुका लागि प्रतिव्यक्ति रु १० प्रवेश शुल्क तोकिएको छ । यहाँ बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छ । यो ठाउँ आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गर लगायतका जीवजन्तु पाइन्छ । सो सिमसार क्षेत्रको विकासका लागि मोरङ क्षेत्र नं १ सङ्घीय निर्वाचन क्षेत्र विकास कार्यक्रम मातहत रु १५ लाख बजेट विनियोजन गरिएको छ । उर्लाबारी नगरपालिकाले सिमसार क्षेत्रसम्म पुग्ने सडक कालोपत्र गर्न रु ३० लाख बजेट छुट्याएको छ । उर्लाबारी नगरपालिकालाई सिमसारको शहरको रुपमा घोषणा गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख खड्ग फागो बताउनुहुन्छ ।सिमसारको शहर भनेर घोषणा गरिएको उर्लाबारीमा बेतिनीसहित लामपाते, बुढाठाकुर लगायतका अन्य सिमसार क्षेत्र पनि रहेका छन् ।

यस्तै, उत्तरी लेटाङ नगरपालिका – १ मा रहेको पर्यटकीय स्थल राजारानीमा पनि वनभोज खाने र घुम्ने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । लेटाङ बजारबाट ६ किलोमिटर उत्तर कच्ची सडक हुँदै सो स्थल पुग्न सकिन्छ । राजारानी क्षेत्रमा घुम्न, वनभोज खान तथा जङ्गलमा फुलेका सुनाखरी अवलोकन गर्न पूर्वी मोरङ, झापा र सुनसरीबाट दैनिक ५०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । राजारानीमा राजा, रानी र राजकुमारी नाम गरेका तीन वटा पोखरी रहेका छन् भने राजारानी मन्दिरसमेत रहेको छ । सो क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु १० लाख र लेटाङ नगरपालिकाले रु ६ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष विष्णु मगरले राससलाई जानकारी दिनुभयो ।

उत्तरी मोरङकै केराबारी गाउँपालिका – २ मा रहेको जेफाले डाँडामा पनि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । धनकुटा जिल्लासँग जोडिएको जेफाले डाँडाबाट बिहानै सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । जेफालेमा रहेको चिया बगानमा घुम्न र स्थानीय संस्कृतिको अध्ययन गर्न पनि आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् । जेफाले गाउँमा होमस्टे सञ्चालन हुन थालेपछि पर्यटकको आकर्षण बढेको हो । यहाँ हाल सात वटा घरमा होमस्टे सञ्चालित छ भने एक रातमा ५० जना पर्यटक खान र बस्न सक्छन् । जिल्लाको सुन्दरहरैँचा

नगरपालिका – ५ मा अवस्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ । सुन्दरपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसबारी चौकबाट करीब ६ किलोमिटर उत्तरमा अवस्थित सो सिमसार पुग्न सकिन्छ । बाह्रै महिना जरुवा पानीको मूलसमेत रहेको सो सिमसार क्षेत्र करीब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । विभिन्न देवीदेवताका मन्दिर, विभिन्न प्रकारका वनस्पति, जीवजन्तु र पशुपक्षीहरुको बासस्थानसमेत रहेको सो क्षेत्र वनभोज, अध्ययन, अनुसन्धान र अवलोकनका लागि समेत उपयोगी रहेको छ । जिल्लामा रहेका बाघझोडा, चुलीपोखरी, सुनवर्षी पोखरी, नेसेलुङ डाँडालगायतका पर्यटकीय क्षेत्र पनि वनभोज खानेहरुका लागि आकर्षक गन्तव्य हुन् ।