कर्णाली प्रदेश

समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण – मुख्यमन्त्री शाही

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजको रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको २३औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले समाज गलत बाटोमा हिडिरहेकाले सबै मिलेर समाजको बाटोलाई सही रुपमा हिडाउन पत्रकारहरुको साथ आवश्यक रहेको बताए ।

मुख्यमन्त्री शाहीले समाजमा अहिले सुशासन पाउन नसकिएकाले समाजमा धेरै अप्रिय घटना हुने गरेको बताए । “हामी सबैभित्र राम्रो र सकारात्मक सोचको आवश्यकता रहेको छ”उनले भने, “हरेक व्यक्तिले समाजमा कसरी राम्रो बन्ने, समाजमा राम्रो छाप कसरी छाड्ने र कसरी राम्रो व्यवहार देखाउने भन्नेबारे प्रतिस्पर्धा गर्न आवश्यक छ ।” व्यवहार र परिचयले जीवनशैली र काम गर्ने तरिका सकारात्मक राख्न जरुरी रहेको उनले बताए ।

पन्ध्र वर्षमुनिका बालबालिकाको मस्तिष्क कस्तो बनाउने र कस्तो शिक्षा दिँदा कर्णाली समृद्ध बनाउन सकिन्छ भन्ने अध्ययन गरेर पाठ्यक्रम बनाउने सरकारको तयारी रहेको उनको भनाइ थियो ।