समाचार

निर्माण व्यवसायी सङ्घ म्याग्दीको विवाद

बेनी । निर्माण व्यवसायी सङ्घ म्याग्दीको विवाद उत्कर्षमा पुगेको छ । वर्तमान कार्य समितिलाई साधारणसभा र वैधानिकताको विषयमा सङ्घका असन्तुष्ट पक्षले प्रश्न उठाएको छ भने दुवै समूहले बेनीमा छुट्टाछुट्टै भेलासमेत आह्वान गरेका छन् ।

गत असोजमा सम्पन्न सङ्घको राष्ट्रिय अधिवेशनमा प्रतिनिधि छनोटमा असन्तुष्ट भएपछि सङ्घको पदावधि सकिएको समितिले गरेको निर्णय अवैधानिक भएको आरोपसहित पूर्वअध्यक्ष कृष्णकुमार शेरचन र वरिष्ठ उपाध्यक्ष प्रदीप सापकोटाले उच्च अदालत बागलुङमा रिट हालेपछि सङ्घभित्रको विवाद बाहिर आएको हो ।

असन्तुष्ट पक्षले वर्तमान कार्य समितिको दुई वर्षे कार्यकाल गत जेठ २८ मै समाप्त भएको र साधारणसभालगायतको संस्थागत गतिविधिसमेत नगरेको भन्दै निर्माण व्यवसायीको भेला आह्वान गरेका छन् ।

सङ्घका पूर्वअध्यक्ष अमर बानियाँले अगुवाइ गर्नुभएको असन्तुष्ट पक्षले अदातलको आदेशबमोजिम २०७२ साल जेठ २९ मा नारायणबहादुर जिसीको अध्यक्षतामा निर्वाचित कार्यसमितिको पदावधि सकिएको समितिले साधारणसभा र अधिवेशननै आह्वान गरेको कारण सङ्घलाई पुनर्जीवन दिनको लागि भन्दै शनिबार बेनीमा भेला बोलाएको छ ।

पूर्वअध्यक्ष बानियाँले सङ्घको वर्तमान परिस्थिति र अदालतको उत्पेषणयुक्त परमादेशलाई कार्यान्वयन गरी सङ्घको वैधानिक रिक्ततालाई हटाएर नयाँ नेतृत्व चयनको लागि छलफल गर्न भेला आह्वान गरेको बताएका छन् । यता सङ्घका वर्तमान अध्यक्ष जिसीले भने यसअघिका सबै अध्यक्षले पनि तीन वर्षे कार्यकाल नेतृत्व गरेर छ महीना म्याद थप गरेर मात्रै अधिवेशन गरेको नजिर भएको प्रतिक्रिया दिए ।

उहाँले समितिबाट आफूले आर्थिक कारोवार नगरेको, आफ्नो कार्यकालमा एउटा पनि चेकमा आफूले हस्ताक्षर नगरेको र आफू अल्पमतमा रहेकाले कुनै पनि संस्थागत आर्थिक कारोवार गर्न नपाएकाले सङ्घको नेतृत्वमा रहेर आफूले कुनै अपारदर्शी र आर्थिक चलखेल नगरेको दाबी गरे ।

यस सङ्घले महासङ्घको परिपत्रअनुसार दुई वर्षे कार्यकाललाई बढाएर तीन वर्षे कार्यकाल बनाउने गरी विधान संशोधन गर्ने निर्णय भए पनि अहिलेसम्म विधान संशोधनले वैधानिकता पाएको छैन । बयानब्बे जना साधारण सदस्य रहेको सङ्घको १०औँ अधिवेशनमा भएको निर्वाचतमा वर्तमान अध्यक्ष जिसीबाहेक अन्य सबै पदाधिकारी र सदस्य अध्यक्षका पत्यासी गोपाल भट्टचन पक्षबाट विजयी भएका हुन् । निर्वाचनमा दलीयरुपमा प्रतिस्पर्धा भए पनि अहिले सङ्घभित्र देखिएको विवाद भने सङ्घभित्रको आर्थिक गतिविधि, नेतृत्व र अस्तित्वसँग जोडिएको छ ।