आर्थिक

बजार सहजीकरण गर्दै बोर्ड

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई गतिशील बनाउन बजार निर्मातालाई पूँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले गत कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु गरिसकेकाले धितोपत्र बजारमा बजार निर्मातालाई प्रवेश गराउन लागिएको बोर्डले जनाएको छ ।

बोर्डले आज विज्ञप्तिमार्फत बजार निर्मातालाई प्रवेश गराउन आवश्यक तयारी भइरहेको उल्लेख गरेको छ । बोर्डको चालू आर्थिक वर्षकोे नीति तथा कार्यक्रममा समेत धितोपत्रको खरीद तथा बिक्री दुवै मूल्य अङ्कित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरीद तथा बिक्री गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । सोहीअनुसार बजार निर्माता वा डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोवार गर्न तथा धितोपत्रको प्रत्याभूतसमेत गर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बजारमा बजार निर्माता/डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग पुग्ने बोर्डको विश्वास लिएकोछ ।