लुम्बिनी

कुटपिट गरी हत्या

रुकुम । रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् ।

व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मङ्सिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएको र त्यसको उपचारका क्रममा खर्च भएको रु दुई हजार नदिएपछि विकले सार्कीलाई कुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताएका छन्। घटनाको अनुसन्धान भइरहे पनि प्रारम्भिक अनुसन्धानका क्रममा दुई हजार नदिएकै झोकमा विकले सार्कीलाई कुटपिट गरेको खुलेको प्रमुख नायब उपरीक्षक खड्काले बताएका छन् ।

सार्कीको उपचारका क्रममा गत मङ्सिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । कुटपिटपछि फरार भएका विकलाई मङ्सिर १० गते नै जाजरकोटको बगराबाट पक्राउ गरे पनि प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला अदालतबाट म्याद थपी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।