कृषि

कृषकलाई अनुदानमा जैविक मल र दाना

बेझाड । कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ ।

पाँच वर्षभित्रमा कृषि र पर्यटन विकासमा वडालाई विकास गर्ने उद्देश्यले वडाका ३४ कृषकलाई अनुदानमा जैविक मल र दाना वितरण गरेको हो । बुधबार वडाका २४ व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई प्रतिव्यक्ति ५० किलो युरिया, १८ किलो डिएपी र सात किलो पोटास र १० पशुपालक कृषकलाई दाना वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताएका छन्।

वडाको एक लाख रकम विनियोजन गरी प्रतिव्यक्ति रु दुई हजार १०० बराबरको जैविक मल र दाना विरतण गरेको उनले बताएका छन् । वडाले कृषि क्षेत्रमा निकै राम्रो कार्यक्रम गरेको कृषक देवराज ढकालले बताएका छन्। कम्तीमा एक रोपनीभन्दा माथि व्यावसायिक तरकारी खेती, कम्तीमा पाँच वटा गाई, तीन वटा भैँसीपालक कृषकलाई छनोट गरी अनुदानवापत रासायनिक मल र दाना दिइएको हो । अनुदानमा सामग्री पाएपछि यहाँका कृषक खुशी भएका छन् । यस कार्यक्रमले व्यावसायिक कृषिमा कृषकलाई हौसला मिल्ने कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेले बताएका छन्।