कर्णाली प्रदेश

विद्यालयलाई रु छ लाखको जग्गा

जाजरकोट । जिल्लाको नलगाड नगरपालिका–३ कैनाबजारका चार अभिभावकले सूर्योदय माध्यमिक विद्यालयका लागि जग्गा खरिद गरेका छन् ।

कैनाबजारका औँसी घर्ती, मिश्रीबहादुर पुन, मनबहादुर विष्ट र गोरखबहादुर पुनले जनही रु डेढ लाख आर्थिक सहयोग गरी विद्यालयका लागि १० आना जग्गा खरिद गरेका हुन् । विद्यालयमा भवन निर्माणका लागि जग्गा नहुँदा व्यक्तिगत रूपमा रकम उठाएर जग्गा किनिदिएको घर्तीले बताए । उनि विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत हुन् ।

खेलमैदानमा शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त अनुदानले चारकोठे भवन निर्माण गरिँदै छ । खेलमैदान फराकिलो बनाउनका लागि समेत जग्गा खरिद गरेको घर्तीको भनाइ छ । विद्यालय चन्दाको भरमा सञ्चालन भइरहेको छ । चारै जनाले सुन, भैँसी, खसीलगायत सामग्री बिक्री गरेर जग्गा खरिदका लागि रकम जुटाएका हुन् ।

विद्यालयमा पूर्वाधार अभाव रहेको प्रधानाध्यापक बहादुर पन्तले बताए । पुरानो जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो । विद्यालयमा हाल झण्डै ४०० विद्यार्थी अध्ययनरत छन् ।