समाचार

खुलालुको पक्की पुल बनेन

कालीकोट । कर्णाली राजमार्गको हुम्ला खण्ड जोड्ने कर्णाली करिडोर जोड्ने झण्डै रु १४ करोडको लागतमा निर्माण हुन लागेको खुलालु पक्की पुलको काम अहिलेसम्म जगसमेत खनिएको छैन । विसं २०६९ मा निर्माणको जिम्मा पाएको कन्काई नेपाल प्रगति जेभिले सडक डिभिजन कार्यालयसँंग योजना सम्झौता भई २०७० सालमै निर्माण सकिनु पर्नेमा अहिलेसम्म १० प्रतिशतमात्रै निर्माण सम्पन्न भएको छ ।

नेपाली सेनाले कर्णाली करिडोरमा ९४ किलोमिटर सडकको ट्र्याक खुला गरी सडक विभागलाई हस्तान्तरणको तयारी गर्दासमेत पुल निर्माण अहिलेसम्म १० प्रतिशतमै सीमित रहेको छ । ठेकेदारको लापरवाहीका कारण पुल निर्माण शुरु भएको सात वर्षसम्म पनि बन्न नसकेको सडक डिभिजन कार्यालय कर्णालीका निमित्त डिभिजन प्रमुख माधव अधिकारीले जानकारी दिए।

उनका अनुसार पटक÷पटक निर्माण सञ्चालन गर्न र तोकिएको समयमै काम सक्न सम्बन्धित कम्पनीलाई ताकेता गरिएको छ । अहिलेसम्म पुल निर्माण कार्य अधुरो छ । लागत अनुमान अनुसार काम भएको छैन । सम्झौताको समय सकिएको पनि चार वर्ष भइसक्यो । तीन वर्षअघि सुर्खेत डिभिजनले ठेक्का लगाएको थियो । गत चैतमा पाँच प्रतिशत काम भएको अवस्थामा सडक डिभिजन कार्यालय कर्णालीलाई हस्तान्तरण गरिएको अधिकारीले जानकारी दिए।

“सडक डिभिजन कार्यालयको निर्देशन नमान्ने कन्सल्टेन्सीलाई कारवाही गर्ने चेतावनी दिएका छौँ,” डिभिजन प्रमुख अधिकारीले थपे, कन्सल्टेन्सीको क्षमता कमजोर देखियो, जसले गर्दा तोकिएको समयमा पुल बन्न सकेनन् ।’’ कार्यालयले बारम्बार ताकेता र अनुगमन गरेर सुझाएको उहाँले बताउनुभयो । कन्सल्टेन्सीले चाहेको समयमा जुनबेला पनि काम गर्ने र नचाहेको बेला कामै नगर्ने गरेको उनको भनाइ छ ।

सिम्लेखोला पुल १६ महीनामा सक्ने गरी पुस मसान्तमा सम्झौता भए पनि एकवर्ष वितिसक्दा काम अघि बढेको छैन । अधिकारीका अनुसार राजमार्गमा निर्माण हुने १२ वटा पुलको सम्झौता अवधि सकिएको तीन वर्ष हुँदा समेत अहिलेसम्म ठेकेदारका लापरवाहीले पुल निर्माणमा ढिलाइ भइरहेको बताएका छन् ।

कन्काई नेपाल प्रगति जेभीले भने पुल निर्माणमा ढिलाइ हुनुको कारण सडक डिभिजन कार्यालय रहेको आरोप लगाएको छ । अहिलेसम्म पनि प्राविधिक लागत नदिँदा काममा ढिलाइ भएको कम्पनिको भनाइ छ । केही डिभिजनले पनि सहयोग गरेको हुनाले पुल निर्माण दु्रतगतिमा अगाडि बढ्ने बताएको छ ।

नेपाली सेनाले कर्णाली करिडोरमा ९४ किलोमिटर सडकको ट्र्याक खुला गरेको छ । करिडोरमा अधिकांश चट्टाने भिरको ट्र्याक खोल्ने काम सकिएको छ । चट्टान छिचोल्दै नेपाली सेनाले सडक निर्माणको गतिलाई तीव्रता दिएको हो । कर्णाली करिडोर निर्माण कार्य पूरा गर्न रु दुई अर्ब ८४ करोड १६ लाख अनुमानित बजेट रहेको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख एवं नेपाली सेनाका सेनानी मिलन कार्कीले बताएका छन् ।

उनले भने, “आर्थिक वर्ष २०७४÷७५ मा नेपाली सेनाले सडक निर्माणमा रु ८३ करोड बढी बजेट खर्च गरेको छ ।” चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरिएको प्रमुख कार्कीले बताएका छन्। कार्कीले भने, “कर्णाली करिडोर नेपाली सेनाले केही महीनाभित्र सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । कालीकोटको खुलालुदेखि जिते नजिकैसम्म डेढ किलोमिटर तथा हुम्ला र कालीकोटको सीमा क्षेत्रमा आधा किलोमिटर गरी साढे दुई किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ ।

नेपाली सेनाको सडक निर्माण कार्य दलले कर्णाली करिडोरको अधिकांश चट्टाने भिरमा ट्र्याक खोलेको छ । वर्षौसम्म अलपत्र परेको सडक नेपाली सेनाले ट्र्याक खोलेपछि कर्णालीवासीको मुहारमा खुशीको सीमा छैन । कर्णाली करिडोरमा सडक निर्माणको गतिले निरन्तरता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार हुने भएको छ ।

दुई दशकसम्म अलपत्र परेको कर्णाली करिडोर सेनाले निर्माण गर्न थालेको हो । कर्णाली करिडोरअन्तर्गतको खुलालुदेखि हुम्ला सिमिकोटसम्म १९६ किलोमिटर सडकको लम्बाइ रहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

कर्णाली करिडोर निर्माणका लागि नेपाल सरकारले रु एक अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट व्यवस्थापन गरेको थियो । अहिले कर्णाली करिडोरको जितेबजारदेखि पलाताको घाटाचौरसम्म प्रशासनको सिफारिसमा १४ वटा जिप र दुई वटा मालबहाक ट्रकलाई अनुमति दिई, सञ्चालन भइरहेको भएपनि, करिडोरमा सञ्चालन भएको निश्चित गाडीहरुले मनपरि भाडा लिँदा यात्रु समस्यामा परेका छन् ।

कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमिकोट जोड्ने यो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि निर्माणको कामले पनि गति लिएको हो । बहुचर्चित यो सडक बजेट अभाव र ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य सुस्त बनेको थियो ।