प्रदेश 1

क्यान्सरपीडित विद्यार्थीको उपचारका लागि विद्यालयको सहयोग

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–२ स्थित सिंहवाहिनी माविले क्यान्सरपीडित एक विद्यार्थीलाई उपचारका लागि सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत पिप्लेका क्यान्सरपीडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकबाट सङ्कलित रु एक लाख ६६ हजार ४० सहयोग गरेको हो ।

सो रकम आज विद्यालयले क्यान्सरपीडित खत्रीका बुबा लोकबहादुर खत्रीलाई हस्तान्तरण गरेको छ । खुट्टामा सामान्य चोट लागे पनि उपचारमा लापरवाही हुँदा सुरजलाई हड्डीको क्यान्सर भएको छ । उनको हाल भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

उनको उपचारमा अहिलेसम्म रु चार लाख खर्च भइसकेको र अब शल्यक्रियाका लागि रु पाँच लाख ५० हजार खर्च लाग्ने अस्पतालले जनाएको बुबा लोकबहादुरले बताएका छन् । सिंहवाहिनी माविले विद्यालयसँगै आसपासका बजार र विद्यालयबाट समेत रकम सङ्कलन गरेको थियो । पीडित खत्री विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनको उपचारका लागि सहयोग सङ्कलन गर्न अहिले जिल्लामा अभियान चलिरहेको छ ।