मनोरञ्जन

श्रृंखला मिस वर्ल्डको टप ३० मा पर्न सफल, जितिन् मल्टिमिडिया अवार्ड

काठमाण्डौ । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको टप ३० मा पर्न सफल भएकी छिन्।

श्रृंखला मल्टिमिडिया अवार्ड जित्दै टप ३० मा पर्न सफल भएकी हुन्। मल्टिमिडियामा नेपालले म्याक्सिको र केन्यालाई पछि पारेको हो। मल्टिमिडिया राउण्डमा फेसबुक, मोबस्टार एप, मिस वर्ल्डको वेबसाइट आदिबाट प्राप्त भोटको गणना हुन्छ।

‘टप–३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ। त्यो प्रतियोगिताबाट ‘टप–१५’ छनोट हुनेछन्। त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप–५’ छानिनेछन्। यसरी छनोट भएका ‘टप–५’ बाट तीन जना क्रमैसँग मिस वर्ल्ड, फर्स्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन्। बाँकी दुई जनाले भने निराश हुनु पर्नेछ।