खेलकुद

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखी

काठमाडौँ । अन्तर्राष्ट्रिय ब्याटमिन्टन महासङ्घको सहयोग तथा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा भोलिदेखि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु हुने भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन हलमा हुने उक्त प्रतियोगितामा नेपालसहित विभिन्न २० राष्ट्रका ६१ महिला र ११७ पुरुषले सहभागिता जनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा नेपालसहित, अमेरिका, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, माल्दिभ्स, बहराइन, थाइल्याण्ड, भियतनाम, मलेसिया, मरिसस, भूटान, श्रीलङ्का, बङ्गलादेश, इरान, मङ्गोलिया, पाकिस्तान, म्यान्मा, सिङ्गापुर र भारत सहभागी हुने छन् ।

त्यस्तै प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल तथा मिश्रित युगल गरी पाँच स्पर्धामा १७८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने पुरुष एकलमा १६ तथा महिला एकलमा १३ खेलाडीले भाग लिनेछन् । प्रतियोगिता यही मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ ।