समाचार

स्वदेशमै सम्भावना देखेपछि विदेश मोह त्याग्दै युवा

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दैआउनु भएको छ ।

अध्ययनका लागि विदेशिएका युवा उतै भासिने गरेको वास्तविकतामा क्षेत्री भने स्वदेशकै सम्भावनालाई उपयोग गर्नुपर्ने सोचका साथ आफू नेपाल फर्किएको बताए । मेकानिकल इञ्जिनीयर विषयमा अमेरिकामा पाँच वर्ष अध्ययन सकेलगत्तै नेपाल फर्किएको बताउँदै उनले त्यहाँका विभिन्न अनुभवलाई यही उपयोग गर्ने जानकारी दिए ।

“यहाँको जीवन वास्तवमै खुशी र सुखी छ, विदेशमा गरेजस्तै श्रम यहाँ गर्ने हो भने प्रत्येकले राम्रोसँग जीवनयापनका साथै वचत पनि गर्न सक्छ, जुन विदेशमा कठिन छ”, उनले भने । विदेशमा दुःख गरेर कमाए पनि त्यो त्यही खान र बस्न ठिक्क हुने उनको अनुभव छ । नेपालमा प्राङ्गारिक उत्पादनका प्रचूर सम्भावना रहेको बताउँदै उनले यहाँका खाली जग्गा र फाँटमा विभिन्न जातका तरकारी तथा फलफूल लगाएर आम्दानी गर्न सकिने बताए ।

आफूले टाढापानीमा सञ्चालन गरेको होटेल पानोरमा पोइन्ट एण्ड रेस्टुरेन्टमा दैनिक ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उनले जानकारी दिए । पदयात्रा पर्यटन क्षेत्रमा युवाका लागि धेरै सम्भावना छ । पदयात्रा गर्ने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरेको उहाँको होटेलमा ४५ बेड छ । “पदयात्राको मुख्य याममा मागअनुसार पर्यटकलाई कोठा पु¥याउनै सकिँदैन,” उनले भने । पछिल्लो समयमा पदयात्राका लागि बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणका कारण होटेलमा बाह्रै महीनाजसो पर्यटक भरिने गरेको उनले बताए ।

पछिल्लो समयमा पदयात्रा क्षेत्रका विभिन्न स्थानमा युवा होटल व्यवसायमा लागेका छन् । पदयात्रा मार्गकै बनठाँटी हिलमा सनराइज लज सञ्चालन गर्दै आएकी प्रियङ्का गुरुङ पदयात्रामा आन्तरिक पर्यटक बढेजस्तै होटेल तथा व्यवसायमा युवा सक्रियता पनि उत्तिकै बढिरहेको बताएका छन्। अन्नपूर्ण सेरोफेरोअन्तर्गतका पदयात्रा मार्गमा आयआर्जनका धेरै विकल्प रहेको अर्का स्थानीयवासी वनवीर गुरुङले बताए ।