पर्यटन/संस्कृति

अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

भद्रपुर । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् ।

महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आए ।

विसं २०२३ मा स्थापना भएको धाममा विसं २०४० देखि प्रत्येक वर्ष बालाचर्तुदशीमा समापन हुने गरी भविष्य पुराण, महापुराणलगायतका अनुष्ठान सञ्चालन हुँदै आएको छ।

नौ दिनसम्म चल्ने अनुष्ठानमा महाभारतकालीन घटनाक्रम एवं धामको उत्पत्तिबारे विद्युतीय जानकारी समेत छ । सो जानकारी लिनका लागि धेरैजसो धाममा आउने भक्तजनको भीड लाग्ने गरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए।

उनका अनुसार धामका बारेमा विद्युतीय जानकारी लिनका लागि ज्येष्ठ नागरिक र विद्यार्थीलाई रु ५० र अन्यलाई रु १०० लिने गरिएका छन् । महायज्ञमा दैनिक गङ्गा आरती हुने गरेको छ ।

धामको ऐतिहासिक मूल पोखरीभित्र कलात्मक सङ्गीतमय फोहोरा प्रदर्शनी, लक्ष्यवर्तीका प्रज्वलनलगायतको व्यवस्था गरिएको छ । भागवतभूषण कौशीकजी महाराज दिनेश ढुङ्गाना बाट अमृतमय कथा प्रवचन भइरहेको छ । पुराण शुरु भएको आज छैटौँ दिनसम्ममा धाममा आउने भक्तजनको सङ्ख्या ९० हजार बढी भएको अध्यक्ष गट्टानीले बताए । महापुराण यही मङ्सिर २० गते अर्थात् बाला चर्तुदशीको दिन समापन हुनेछ ।