खेलकुद

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

काठमाडौँ । साबिकको विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भिया रियललाई २-० ले हराएर बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पीके र कार्लेस अलेनाले एक एक गोल गरे । जितसंगै बार्सिलोनाले सेभियालाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो ।

भिया रियलविरुद्ध खेलको ३५ औं मिनेटमा पीकेको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसपछि खेलको ८७ औं मिनेटमा अलेनाले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

जितसंगै शीर्ष स्थानमा फर्किएको बार्सिलोनाले १४ खेलबाट २८ अंक जोडेको छ । र, बार्सिलोना सेभियालाई १ अंकले पछि पार्यो । सेभियाको २७ अंक छ ।

आइतबार राति नै भएको खेलमा सेभिया डिपोर्टिभो अलाभेससंग १-१ गोलको बराबरीमा रोकिएको थियो । जसको फाइदा बार्सिलोनालाई पुगेको छ ।