कृषि

नुवाकोटमा जैविक कृषि फार्म सञ्चालनमा

बेत्रावती । नुवाकोटको लिखु गाउँपालिका–४ मा जिल्लाकै ठूलो अर्गानिक कृषि फार्मका रुपमा ‘चौघडा एग्रो अर्गानिक प्रालि’ले कृषि खेती सञ्चालनमा ल्याएको छ ।

यही वर्षदेखि सञ्चालनमा आएको प्रालिको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले आलु रोपेर उद्घाटन गर्नुहुँदै कृषि क्षेत्रलाई सम्मानित एवं प्रतिष्ठित पेशा बनाउन चौघडा फार्मले नयाँ सन्देश प्रवाह गरेको बताए ।

नेपाल कृषि प्रधान देश भए पनि यहाँका किसानले खेती छाड्दै गएर विदेशी कृषि उब्जनी भित्र्याउनु परेको समयमा जिल्लाकै ठूलो कृषि क्षेत्रको शुरुआतले अन्य किसानलाई पनि व्यावसायिक बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रालिका अध्यक्ष अञ्जु शाहका अनुसार हाल फार्मले २४० रोपनी जग्गामा कृषिखेती शुरु गरेको छ । उद्योगमा रु एक करोड ३० लाख लगानी भएको छ भने यही वर्षभित्र पशुचौपाय एवं पक्षीपालनसमेत शुरु गरी तीन करोड पु¥याउने लक्ष्य बनाइएको उनले बताए । फार्ममा हाल १५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

फार्ममा हाल बीउ उत्पादनको लागि आलु रोपिएको छ भने बेमौसमी तरकारी खेती, बीउ उत्पादनको लागि धानखेती गर्न लागिएको छ । प्राङ्गारिक मल र दूध उत्पादनको लागि १०० गाईपालनको लागि गोठ निर्माण थालिएको छ ।

मासु उत्पादनको लागि १०० बाख्रा र स्थानीय जातका दुई हजार कुखुरासमेत पालन गर्न खोर बनाउन थालिएको छ ।