पु.समाचार

अपाङ्गता भएका व्यक्तिलाई पनि अवसरमा समान पहुँच : प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । अपाङ्गता भएका व्यक्तिहरू विभेद र अवरोधहरूका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, “अपाङ्गता भएका व्यक्तिहरूको राज्य प्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्दछ । उनीहरुले पनि अरु सरह लाभान्वित हुन पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिवद्ध छ ।” ‘कोही पनि पछाडि नपरून्’ भन्ने मूल ध्येयका साथ सरकार सामाजिक न्यायको स्थापना गर्न तल्लीन रहेको सन्देशमा उल्लेख गरिएको छ ।

“पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक सुरक्षा र गुणस्तरीय जीवनको विशेष व्यवस्था गर्न सरकार कटिवद्ध छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ, “सरकारले अपाङ्गता भएका व्यक्तिहरूको विकास र सशक्तीकरणका लागि छुट्टै बृहत् नीति र कार्ययोजना ल्याउने तयारी पनि गरिरहेको छ । सरकारको सम्पूर्ण प्रयास समावेशी विकासको माध्यमबाट देशमा समृद्धि, खुसीयाली, शान्ति र न्याय स्थापना गर्न केन्द्रित छ ।”
अपाङ्गता भएका महिलाहरूमाथि हुने हिंसा र दुव्र्यवहारका विरूद्धमा कडा कानूनी कारबाहीहरू अगाडि बढाउने र पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा सरकारले विशेष ध्यान पु¥याएको सन्देशमा जनाइएको छ ।

“सार्वजनिक भौतिक संरचना, सेवा प्रवाह गर्ने प्रणाली, यातायात सेवा र सूचना तथा सञ्चार प्रणालीहरूमा अपाङ्गता भएका व्यक्तिको पहुँचलाई पूर्ण रुपमा सुनिश्चित गर्न सरकारलाई सबैको सहयोग चाहिन्छ । यस सम्बन्धमा तर्जूमा गरिएका नियम र मापदण्डहरू प्रभावकारी रूपमा लागू गर्ने अभियानमा सरोकारवाला निकाय मात्र होइन समाजका सबै क्षेत्रका व्यक्तिहरु सामेल हुन आवश्यक छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।