राजनीति

देश बनाउने काम तीन तहका सरकारको हो : अध्यक्ष तिमिल्सिना

सिन्धुपाल्चोक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिए । आफ्नो जिम्मेवारीअनुसार काम गरे देश समृद्ध पार्न धेरै समय नलाग्ने उाको भनाइ थियो । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ३ कालिकामा भूकम्पले भत्काएको निजी आवास पुनःनिर्माणपछि आयोजित घर हस्तान्तरण कार्यक्रममा उनले देश निर्माणको अभियान अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कारितास नेपाल नामक संस्थाले सरकारसँगको समन्वयमा त्यहा स्थानीयको ६५३ घर निर्माण सम्पन्न गरेपछि घर हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विगतमा राजनीतिक अस्थिरताले विकास गर्न नसकेको भए पनि अहिले राजनीतिक स्थिरतासँगै विकासले गति लिएको बताए । उनले कतिपय ठाउँमा भूकम्पपीडितले दोस्रो किस्ता लिन नसकिरहेका बेला यहाँ नयाँ घर निर्माण गरी उनीहरु नयाँ घरमा स्थानान्तरण हुनु सुखद भएको भन्दै अन्य क्षेत्रमा पनि यसैगरी काम गर्नुपर्नेमा जोड दिए ।

घर निर्माण हुन नसकेको विषयमा काठमाडौँ पुगेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाउँदै उनले भूकम्पपीडितको समस्यामा गम्भीर हुन सरकारको ध्यानाकर्षणसमेत गराए ।