राजनीति

प्रधानमन्त्री ओली र भारतका पूर्व प्रधानमन्त्री देवेगौडाबीच भेटबार्ता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ । शनिबार साँझ सोल्टी क्राउन प्लाजामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै जाने विषयमा दुबै नेताबीच छलफल भएको छ । दुवै मुलुकलाई फाइदा हुनेगरी जलस्रोतमा साझेदारी, महाकाली सन्धि र पञ्चेश्वर परियोजनालाई कार्यान्वयन गर्ने सम्बन्धमा समेत उहाँहरुबीच कुराकानी भएको सल्लाहकार डा। भट्टराईले जानकारी दिएका छन् ।

यस्तै जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि दुबै देशले सामूहिक प्रयास गर्ने र दुबै देशका जनताको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने विषयमा उहाँहरुबीच छलफल भएको उनले बताए । पुरानो चिनजानसमेत रहेकाले भेटमा उहाँहरुबीच आपसी अनुभव आदानप्रदानसमेत भएको सल्लाहकार डा. भट्टराईले जानकारी दिए ।

भेटघाटमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतको उपस्थिति थियो । पूर्वप्रधानमन्त्री देवेगौडा एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएका हुन् ।