पत्रपत्रिका

निर्मलालाई न्याय खोज्दा सरकारको धम्की र अवरोध

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको पक्षमा भइरहेका प्रदर्शन र सांकेतिक विरोधलाई रोक्न खोजेको हो।

निर्मलालाई न्याय माग्दै शुक्रबार मात्रै माइतीघर मण्डला क्षेत्रमा टाँसिएका पोस्टर माथिको आदेश भन्दै च्यातेको प्रहरीको टोलीले शनिबार त्यही स्थानमा गरिएको सांकेतिक विरोध कार्यक्रमलाई रोक्ने प्रयास गर्‍यो। विरोध कार्यक्रमलाई रोक्नैका लागि माइतीघर मण्डलादेखि धोबीखोला पुलसम्म ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रही तैनाथ गरिएको थियो। मध्याह्न १२ बजे थाल्ने भनिएको कार्यक्रम प्रहरीले माइतीघर मण्डलामा प्रवेश नै गर्न नदिएपछि करिब एक घण्टापछि सुरु भएको समाचार अाजकाे अन्नपूर्ण पाेस्टमा छ।

निर्मलाको पक्षमा अभियान चलाइरहेकी सिर्जना विश्वकर्मासहितका युवालाई शुक्रबार मात्रै प्रहरीले माइतीघरबाट पक्राउ गरेर हिरासतमा लिएको थियो। ‘हामीले माइतीघर क्षेत्रमा पोस्टर टाँस्नसमेत पाएनौं, हामीले टाँसेको पोस्टरसमेत माथिको आदेश भन्दै प्रहरीले च्यातिदियो’, निर्मलालाई न्याय अभियानकी सदस्य सिर्जनाले शनिबारको कार्यक्रममा भनिन्, ‘निर्मलाको पक्षमा राजधानीमा टाँसिएका पोस्टर गृहमन्त्रालयको ठाडो आदेशमा रातारात च्यातिदियो।’