समाचार

रिसका कारण क्षत्रीहरु जायज अधिकार राज्यबाट लिन पछि परेः प्रा डा सुरेन्द्र केसी

काठमाडौं । दुईवर्षे कार्यकालका खड्का क्षत्री महासमाजको नयाँ नेतृत्व चयन भएको छ । महासमाज केन्द्रीय कार्यसमितिको दोस्रो राष्ट्रिय भेला एवं नवौँ अधिवेशन उद्घाटन समारोहले नयाँ नेतृत्व निर्वाचित गरेको हो । महासमाजको अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै संस्कृतिविद् डा जगमान गुरुङले जातीय द्वन्द्व अन्त्य गरी धार्मिक सहिष्णुता कायम राख्न खस क्षत्रीको भूमिका उल्लेख्य रहेको बताए ।

खड्ग चलाउन पारंगत जातिलाई खड्गा भनिएकामा अपभ्रंश भई खड्का हुन गएको उनले सुनाए । खड्ग चलाउन जान्ने भएकाले नेपालको एकीकरण एवं सुरक्षामा खड्का समुदायको महत्वपूर्ण रहेको उनले सुनाए ।

कार्यक्रममा राजनीतिक बिश्लेशक एबं  इतिहासविद् प्रा डा सुरेन्द्र केसीले क्षत्री रिसका कारण जायज माग राज्यबाट लिन पछि परेको बताउदै जनजातिले बौद्धिकरुपमा बहस गरी अधिकार पाएको सुनाए । प्रा डा धनबहादुर कुँवर, महासमाजका पूर्वअध्यक्ष मोहनसिंह खड्का, पूर्वमहासचिव विष्णुबहादुर खड्कालगायतले नेपाली समाजमा खड्का समुदायले पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

महासमाजको अध्यक्षतामा बाबुराम खड्का, उपाध्यक्ष त्रयमा भूपति खड्का, साधुराम खड्का र टीकाराम खड्का निर्विरोध निर्वाचित भएका छन् । यसैगरी महासचिवमा केशर खड्का, सचिवमा राजन खड्का, कोषाध्यक्षमा यशोदा खड्का, सदस्यमा मधुसूदन खड्का, माला खड्का, खिलबहादुर खड्का, महेश खड्का, केशवजंग खड्का, प्रकाश खड्का, बलराम खड्का र रामचन्द्र खड्का निर्वाचित हुनेभएको छ । बाँकी सदस्य कार्यसमितिले चयन गरिने जनाइएको छ । खड्काका १० समूहबाट एक÷एक सदस्य रहने कार्यसमितिलाई पूर्णता दिइने अध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।