समाचार

आतङ्कवाद विश्व शान्तिका लागि चुनौतीः देवेगौडा

काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतङ्कवादसम्बन्धी समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्नेमा जोड दिएा छन् ।

एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले आतङ्कवाद विश्व शान्तिका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको बताए । उनले आतङ्कवाद मानवाधिकार उल्लङ्घनको विषय भएको बताउँदै आतङ्कवादीलाई ‘बहादुर व्यक्तिका’ रुपमा हेरिनु नहुनेमा जोड दिए । उनले भने, “राज्यबाट आतङ्कवाद संरक्षित हुनुहुन्न र आतङ्कवादलाई राज्यले गर्ने सहयोग रोकिनुपर्छ । यस्ता समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्छ ।”

वर्तमान र भविष्यका पुस्ताको भविष्यका सुरक्षाका लागि शान्ति अन्तरसम्बन्धित कुरा भएको र यसलाई साधारण र सरल बनाउनुपर्नेमा जोड दिँदै उनले शान्ति सर्वकालिक हुनुपर्ने र यो एक पुस्ताबाट अर्को पुस्तामा पुग्नुपर्छ भने ।

उनले भने, “भारतमा प्रकृतिलाई आमा मानिन्छ । प्राकृतिक स्रोत प्राणीको आवश्यकताका लागि पर्याप्त छ तर लालचका लागि पर्याप्त छैन । मौसम परिवर्तनका असर कम गर्न भारत वचनबद्ध छ ।” उनले खाद्य सुरक्षा र बाँच्न पाउने अधिकारको सुरक्षामा जोड दिँदै विश्वका प्रत्येक नौ व्यक्तिमा एक भोका भएको र उनीहरुको खाद्यमा पहुँच पर्नुपर्ने बताए ।