आर्थिक

गुट्खाको अवैध व्यापार– भन्सार राजश्व प्रभावित

वीरगञ्ज । भन्सारबाट राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको बारे वीरगञ्ज भन्सार कार्यालयमा कुनै अभिलेख छैन् तर यहाँको बजारमा भने व्यापक मात्रामा भारतमा निर्मित गुट्खा बिक्री भइरहेको देखिन्छ ।

नेपाली बजारभन्दा भारतीय बजारमा रजनिगन्धा, तुलसी, राजनिवास, राजश्री सिग्नेचर, शिखर, पान पसन्द, कमला पसन्द, जस्ता गुट्खा सस्तोमा पाइने भएकाले व्यापक मात्रामा तस्करी भई वीरगञ्ज भन्सारको मूल ढोकाबाट नै भित्रिने गरेको छ ।

सीमावर्ती भारतको रक्सौल बजारबाट रातको समयमा तस्करले त्यस्ता महँगो गुट्खा भन्सार नाका, छपकैया तथा ग्रामीण क्षेत्रका नाकाबाट दैनिक करीब रु २५ लाखभन्दा बढी मूल्य बराबरको गुट्खा भित्र्याउने गरेको छ ।

सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी, जनपथ प्रहरीका जिम्मेवार व्यक्तिलाई आफ्नो पक्षमा पारेर तस्करले महीनावारी रकम दिने गरेको र रातको समयमा व्यापक मात्रामा रजनिगन्धा, तुलसी, राजनिवास, राजश्रीलगायतका गुट्खा भित्र्याउने गरेको यस कार्यमा संलग्न माईस्थानका एक तस्करले राससलाई बताएका छन् ।

घुमन्ते प्रहरीका रुपमा रहेको घुमुवा प्रहरीलाई समेत प्रतिमहीना रु पाँच हजारदेखि १० हजारसम्म ‘नजराना’ दिने गरेको ती तस्करले भने, “हामीले भन्सार काटेर गुटका ल्याउँदा महँगो पर्ने भएकाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई महीनावारी रकम दिएर तस्करीको लाइन लिएका हौँ ।”

यस सम्बन्धमा प्रदेश नं २ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालसँग जिज्ञासा राख्दा उनले हामी पारदर्शी रुपमा काम गरिरहेका छौँ र त्यस्ता सामान पक्राउ गरी कारवाहीसमेत गरेको बताए ।

भारतको नयाँदिल्ली तथा उत्तर प्रदेशमा उत्पादित यस्ता गुट्खाको मुख्य बजार नेपालनै भएकाले वीरगञ्जका थोक व्यापारीले सीमा नाकामा रहेका सुरक्षाकर्मीलाई प्रभावमा पारी यसको व्यापक तस्करी गर्ने गरेको बताइएको छ ।

वीरगञ्जबाट सरकारी तथा निजी सवारी साधनमा तस्करी गरी काठमाडौँलगायत अन्य शहरमा पठाउने गरेका यस व्यापारमा संलग्न फुटकर तस्करले बताएका छन्, तर यी आरोपलाई मित्था भन्दै पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता मानबहादुर राईले भने, “मलाई विश्वास लाग्दैन कि प्रहरीले पैसा खान्छ । उनले भारतबाट रजनिगन्धालगायतका गुट्खा आउन त आउँछन् तर कुन बाटोबाट आउँछन् थाहा हुँदैन । फेला परेपछि हामीले समातेका नै छौँ ” भनिन् ।

आर्थिक अध्यादेश २०७४ ले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत भन्सार, प्रतिकिलो रु ५५५ अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ भारतबाट आउने विभिन्न प्रकारका गुट्खाको छुट्टै भन्सार काटेको आजसम्म भन्सारमा कुनै अभिलेख नरहेको भन्दै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले अनुगमन गर्ने निकायको उदासीनताको कारण सरकारले वर्षेनी लाखौँ रुपैयाँ राजश्व गुमाउँदै आएको छ ।

अहिले बजारमा रजनिगन्धा तुलसी प्रति एकसेट रु ४५ सम्ममा नेपाली बजारमा पाउने गरिन्छ तर सोको भन्सार काट्यो भने त्यसको दाम दोब्बर हुने बताउँदै माईस्थानका एक थोक व्यापारीले त्यस कारण हामीले तस्करी गर्ने कुरियरमार्फत समान मगाउने गरेको बताएका छन् ।

यस्ता सामान बिक्री गर्ने वीरगञ्ज क्षेत्रमा करीब ५० भन्दा बढी पसल रहेका छन् । करीब वार्षिक रु २५ करोडको अवैध व्यापार हुने यस्ता सुर्तीजन्य पर्दाथ खास गरी इनर्वा, छपकैया, सिर्सिया नाकाको बाटो तथा ग्रामीण नाकाको बाटो गरी आउने गरेका छन् ।

भारतीय बजारबाट चोरी पैठारी गरी विशेषतः थोक व्यापारी भएको वीरगञ्जको पानमण्डी, माईस्थान, घोडाबजार, पुरानो पानमण्डीलगायतका ठाउँमा कुरियरवालाले भारतको रक्सौलबाट ल्याई पु¥याउने गर्दछ । पानमसलासँग विभिन्न किसिमका आर्कषक प्याकिङ भएका विभिन्न नामका गुट्खा तस्करीको बाटो भई अवैधरुपमा भित्रिनाले यसको सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको चिकित्सक बताउँछन् ।

वीरगञ्ज भन्सारको वैधानिक बाटोमै सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मको कार्यालय अगाडि पछाडि कै बाटो भएर गुट्खाको तस्करी हुने गरे पनि जिम्मेवार निकाय बेखबर रहेकालाई भन्सार कर्मचारीले अर्थपूर्ण रुपमा लिएका छन् ।

तस्करी भई व्यापकरुपमा गुटका चोर बाटोबाट आइरहेको स्वीकार्दै सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले हामीले फेला पारेसम्म गुटका पक्रिने गरेको बताए ।

अत्यधिक गुट्खा र सुर्तीजन्य पदार्थको सेवनले शारीरिक तौल कम हुने, पेट, फोक्सो, घाँटी र मुखमा प्रत्यक्ष असर पर्ने, मुखमा क्यान्सर हुने, मुख बन्द हुने, दाँत गिजामा रोग लाग्ने भएको भए पनि गुटका सेवन गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

अहिले स्थानीय बजारमा रजनिगन्धा, तुलसी, राजनिवास, भोला, राजश्री, शिखर, पराग, मधुलगायतका विभिन्न नाम गरेका गुट्खा प्रयोगमा रहेका छन् । सुर्तीजन्य पदार्थ र जर्दाको मित्रण गरी बनाइने हुँदा यसको सेवनकर्तालाई क्यान्सर हुने बढी सम्भावना रहन्छ भने यसमा अति सुगन्धित र विषादी तत्व हाइड्रोकार्बन नाइट्रोजेमिन र विभिन्न किसिमका नाशालु रसायनिक पदार्थको सम्मिश्रण गरी यो उपभोक्तासम्म पु¥याउने हुँदा यसलाई प्राणघातक तत्व भन्ने पनि हुने कुरा विज्ञ बताउँछन् ।

तस्करी भई आउने यस्ता गुट्खा बेच्ने व्यापारीकहाँ आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग तथा सम्बन्धित निकायले छापा नमार्दा तस्कर र व्यापारीको मनोबल बढ्न गएको छ भने अर्कोतिर यस्ता हानिकारक तत्व प्रयोग नगर्नेबारे स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रममा सञ्चालन गरी बिक्री वितरणमा समेत प्रतिबन्ध लगाउने पर्ने माग वीरगञ्जवासीको छ ।

भारतबाट भित्रिने यस्ता प्राणघातक मन्दविषको रुपमा रहेको गुटका तस्करी रोक्नुपर्ने जनस्तरमा माग उठिरहेको बेला सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मी पनि आफ्नो कर्तव्यप्रति इमान्दार हुनुपर्ने आम नागरिकको सोचाइ रहेको छ ।